काठमाडौँ , भदौ ३१ । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा शौचालयको सेफ्टी ट्यांकीभित्र एक युवकको शव फेला परेको छ ।मृतक भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सरदारको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीभित्र लुकाइएको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार शव लुकाइएको ट्यांकीमाथि सिमेन्ट र बालुवा प्रयोग गरी प्लास्टरसमेत गरिएको छ ।विवेक रक्षाबन्धनको दिनदेखि सम्पर्कविहीन थिए । उनको परिवारले खोजी जारी राखेको थियो । प्रहरी अनुसन्धानका क्रममा सरदारको अन्तिम मोबाइल लोकेसन घटनास्थल आसपास देखिएको र अन्तिम फोन कल पनि घटनास्थलका बासिन्दासँग सम्बन्धित नम्बरमा भएको देखिएको थियो
घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले बनौटाका घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएको बताएपछि प्रहरी घटनास्थलमा पुगेर शव बरामद गरेको जनाइएको छ ।प्रहरीका अनुसार सरदार रक्षाबन्धनको केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका थिए । प्रहरी हत्या के कारणले भयो भन्ने निष्कर्षमा पुगिसकेको छैन । बरामद गरिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भर साहले बताए ।









