दमक,३१ भदौ ।दमकमा कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ।दमक भेट्रान क्लबको आयोजनामा असोज १५ गतेदेखि ६ दिनसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।प्रतियोगितामा झापा, मोरङ, इलाम, पाँचथरलगायत जिल्लाका १२ वटा भेट्रान टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने दमक भेट्रान क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभयो।
बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिताको मुख्य उद्देश्य भेट्रान खेलाडीलाई खेलमा सक्रिय राख्नुका साथै नयाँ पुस्तालाई समेत खेलकुदतर्फ आकर्षित गर्नु रहेको आयोजकको भनाइ छ। नयाँ पुस्तालाई भेट्रान खेलाडीहरूसँगै खेल हेर्ने र खेल्ने अवसरसमेत प्रदान गरिने अध्यक्ष देवानले बताउनुभयो।
पुराना पुस्ताको खेल अनुभव र नयाँ पुस्ताको उत्साहलाई एकै ठाउँमा जोड्दै प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास र खेलाडी उत्पादनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।









