विराटनगर , असोज १। अविरल वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड १८ दिनपछि बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ १४ गते त्रिशूली नदीको कटानले सडकको ठूलो हिस्सा बगाएपछि यो मार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।सडक पूरै भासिएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का प्राविधिक तथा कामदारहरूले निरन्तरको प्रयासपछि बुधबार साँझ ट्र्याक निर्माण सम्पन्न गरेका हुन् । आज बिहानदेखि दुईतर्फी रूपमै सवारी साधनहरू गुड्न थालेका छन् ।
करिब १०० मिटर सडक क्षतिग्रस्त हुँदा दैनिक १४ हजारभन्दा बढी सवारी साधनको आवागमन प्रभावित भएको थियो । लामो समय सडक ठप्प हुँदा सङ्घीय राजधानी काठमाडौँमा एलपी ग्यासलगायतका अत्यावश्यक सामग्रीको अभावसमेत देखिन थालेको थियो । सडक खुलेसँगै अब आपूर्ति व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।कृष्णभीरमा यातायात सुचारु भएपछि नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा पहिरो रोकथामका लागि गरिँदै आएको कामलाई समेत अहिलेका लागि स्थगित गरिएको छ । सवारी साधनको चापलाई मध्यनजर गर्दै तत्कालका लागि आवागमनलाई प्राथमिकता दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले त्रिशूलीको सतह बढाउँदा पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको थियो ।









