काठमाडौँ , १ असोज। नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खड्काले कर्णाली जस्तो दुर्गम र पिछडिएको प्रदेशमा स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको बताउनुभयो । उहाले प्रादेशिक अस्पतालमा मुटुरोग (कार्डियोलोजिस्ट), पिसाब रोग (युरोलोजिस्ट) र न्युरोलोजिस्ट जस्ता विशेषज्ञ चिकित्सकहरू नहुँदा स्थानीयवासीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । ‘क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसक्यो, तर त्यहाँ कार्डियोलोजिस्ट डाक्टर हुनुहुन्न । न युरोलोजिस्ट छन्, न त न्युरोलोजिस्ट नै,’ सांसद खड्काले सदनमा भन्नुभयो , ‘कर्णाली प्रदेश विकट छ, गरिबी र अशिक्षाले ग्रस्त छ। त्यसमाथि यातायात र स्वास्थ्य सेवाको असुविधाले गर्दा बिरामीहरूले सहज उपचार पाउन सकेका छैनन्।
’सांसद खड्काले कर्णालीका अधिकांश बिरामीहरूलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ वा लुम्बिनी प्रदेशसम्म रिफर गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।‘९९ प्रतिशत न्यूरोका बिरामीहरूलाई हेर्नुपर्ने डाक्टरको अभावमा उनीहरूले समयमै उपचार पाउन सकेका छैनन् । गरिब जनता उपचारका लागि महँगो खर्च बोकेर बाहिर जान सक्ने अवस्थामा छैनन्,’ उहाले बताउनुभयो । त्यसैगरी, प्रादेशिक अस्पतालमा रहेका डायलासिस मेसिनहरू समेत समय समयमा बिग्रिने गरेकाले बिरामीहरू थप मारमा परेको उहाले उल्लेख गर्नुभयो । कर्णाली प्रदेशको भौगोलिक विकटता र गरिबीका कारण त्यहाँका जनताले सामान्य स्वास्थ्य सुविधा पाउन पनि सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै सांसद खड्काले राज्यले दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।









