काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि समितिमा खुला र विस्तृत छलफल भएको बताउनु भयो। उहाँले समितिका सदस्यहरूले विधेयकलाई थप परिष्कृत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
मन्त्री गौतमले संसद्को पूर्ण बैठकमा भन्दा समितिमा विधेयकका प्रत्येक दफामाथि विस्तृत छलफल हुने र देखिएका त्रुटि सच्याउने अवसर प्राप्त हुने बताइन् । उनका अनुसार राष्ट्रिय सेवा दल विधेयकमाथि अध्ययन गर्न गठित उपसमितिले समेत विषयवस्तुको विस्तृत अध्ययन गरेको थियो ।
उहाँले भन्नुभयो , ‘विधेयकमाथि समितिमा खुला र विस्तृत छलफल भएको छ । समितिका सदस्यहरूले विधेयकलाई थप परिष्कृत बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । संसद्को पूर्ण बैठकमा भन्दा समितिमा प्रत्येक दफामाथि विस्तृत छलफल हुने र देखिएका त्रुटि सच्याउने अवसर प्राप्त हुन्छ । राष्ट्रिय सेवा दल विधेयकमाथि अध्ययन गर्न गठित उपसमितिले पनि विषयवस्तुको विस्तृत अध्ययन गरेको छ ।’
विधेयकमा ‘मापदण्डको आधारमा’ भन्ने शब्दावलीको सट्टा ‘मापदण्डबमोजिम समावेशी सिद्धान्तको आधारमा’ भन्ने व्यवस्था राखिएको विषयमा पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले तालिममा सहभागी हुन आवश्यक शारीरिक तथा अन्य प्राविधिक योग्यता पूरा गर्नुपर्ने भएकाले ‘मापदण्ड’ लाई प्राविधिक पक्षका रूपमा बुझ्नुपर्ने बताउनु भयो । मापदण्ड पूरा भएपछि सहभागी छनोटमा समावेशी सिद्धान्तलाई आधार मानिने उहाँको भनाइ थियो ।
‘मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ भनेर भनिएको हो । त्यसैले समावेशिता छुटेको छैन,’ मन्त्री गौतमले भन्नु भयो ् ।
उहाँले राष्ट्रिय सेवा दलको तालिमका लागि आवश्यक योग्यता पूरा गर्ने विषय व्यक्तिको क्षमतासँग सम्बन्धित हुने भएकाले प्राविधिक मापदण्ड र समावेशितालाई अलग–अलग रूपमा बुझ्नुपर्ने बताउनु भयो ।
उपसमितिले प्रस्तुत गरेका विषयमा खुला छलफल भएको र त्यसका आधारमा प्रस्तावित व्यवस्था अघि बढाइएको मन्त्री गौतमले जानकारी दिनुभयो ् ।
प्रधानमन्त्रीको तर्फबाट आफूलाई तोकिएको जिम्मेवारीअनुसार उपसमितिको प्रतिवेदनमा समेटिएका विषय स्वीकार गरिएको तथा रक्षा मन्त्रालयबाट समेत सकारात्मक धारणा आएको उहाँले बताउनु भयो ।
मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि प्रभावकारी रूपमा काम गरिरहेको उल्लेख गर्दै समितिका सभापति तथा सदस्यहरूको सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उपसमितिको प्रतिवेदनसहित सम्बन्धित विषयका प्रतिवेदनहरू प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश गर्ने प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।









