दमक, १ असोज।हातमा सीप भए अवसर जहाँ पनि हुन्छ। सीपसँगै आत्मविश्वास जोडिए त्यसले रोजगारी मात्र होइन, स्वरोजगारको बाटोसमेत खोल्न सक्छ। अझ सौन्दर्यसम्बन्धी सीप त संसारका जुनसुकै कुनामा पनि उपयोग गर्न सकिने व्यावसायिक सीपका रूपमा स्थापित हुँदै गएको छ । कपाल काट्ने र डिजाइन गर्ने, कपालमा कलर भर्ने, फेस आर्टदेखि मेहन्दी लगाउनेसम्मका काम अहिले सौन्दर्यसँग जोडिएका व्यावसायिक सीप हुन्। यीमध्ये कुनै एउटा सीपमा दक्षता हासिल गर्न सके पनि त्यसलाई आम्दानीको माध्यम बनाउन सकिन्छ।
यही सम्भावनालाई केन्द्रमा राखेर झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको ‘द ब्युटी वल्र्ड’ले सौन्दर्यसम्बन्धी सीपलाई रोजगारी र स्वरोजगारसँग जोड्ने अभियान सञ्चालन गरिरहेको छ। ‘विश्वकै टप ब्युटिसियन’ उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको द ब्युटी वल्र्डमा आएर सौन्दर्यसम्बन्धी विभिन्न सीप सिक्न सकिन्छ। आर्थिक अवस्था कमजोर भएका तर सीप सिक्ने चाहना भएका व्यक्तिका लागि निःशुल्क तालिमको समेत व्यवस्था गरिएको संस्थाले जनाएको छ। संस्थाको उद्देश्य स्पष्ट छ, सीप सिकेर रोजगारी वा स्वरोजगार बन्ने अवसर सिर्जना गर्नु।
द ब्युटी वल्र्डमा तालिम लिइरहेका प्रशिक्षार्थीहरूका अनुभवले पनि यही कुरा देखाउँछ। यहाँ तालिम लिइरहेकी मेलिना राजवंशी सीप सिकेर रोजगारीका लागि विदेश जाने योजना रहेको बताउँनु हुन्छ।उहाँजस्तै गीता गुप्ता, आशा विष्ट र निर्जला बानियाँ पनि विभिन्न सौन्दर्यसम्बन्धी सीप सिकिरहनु भएको छ। उहाँहरूको साझा लक्ष्य छ, सीप सिक्ने, त्यसलाई काममा प्रयोग गर्ने र आफ्नो भविष्य आफैँ निर्माण गर्ने।बिर्तामोडको भद्रपुर रोडमा रहेको द ब्युटी वल्र्डको मुख्य कार्यालयमै कपालसम्बन्धी तालिमदेखि नेल आर्ट, फेस आर्ट, मेहन्दीलगायत सौन्दर्यसम्बन्धी विभिन्न सीप सिकाइन्छ। कतिपय प्रशिक्षार्थीले एउटै विधामा तालिम लिइरहेका छन् भने कतिपयले सौन्दर्य क्षेत्रका धेरै विधामा दक्षता हासिल गरिरहेका छन्।
यहाँको प्रशिक्षण केवल सैद्धान्तिक ज्ञानमा सीमित छैन। अनुभवी प्रशिक्षकमार्फत व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइन्छ। केही प्रशिक्षकले नेपालमा मात्र नभई विदेशमा समेत काम गरेको अनुभव बोकेका छन्। त्यसैले विभिन्न देशमा ग्राहकको माग, डिजाइनको प्रवृत्ति र सेवाको स्तरबारे समेत प्रशिक्षार्थीलाई जानकारी गराइन्छ। द ब्युटी वल्र्डकी प्रशिक्षक गीता गिरीका अनुसार विदेशमा काम गर्ने क्रममा प्राप्त अनुभवलाई नेपालमा प्रशिक्षणका क्रममा प्रयोग गर्ने गरिएको छ। विदेशमा कस्ता ग्राहक आउँछन्, उनीहरूको माग कस्तो हुन्छ र कुन प्रकारका डिजाइन तथा सेवाको माग बढी हुन्छ भन्ने विषयमा समेत प्रशिक्षार्थीलाई सिकाइने गरिएको छ।
देशभर विस्तार हुँदै शाखा
बिर्तामोडमा मुख्य कार्यालय रहेको द ब्युटी वल्र्डले झापासहित देशभर ३३ स्थानमा शाखा स्थापना गरेको जनाएको छ।
संस्थाका अनुसार सबै शाखाबाट गरि वर्षमा ४ सय जनालाई निःशुल्क सीप सिकाउने गरिएको छ। यसबाहेक शुल्क तिरेर तालिम लिने हजारौँ प्रशिक्षार्थीले पनि विभिन्न सौन्दर्यसम्बन्धी सीप सिकिरहेका छन्।संस्थाका अनुसार हालसम्म वार्षिक रूपमा ५ हजारभन्दा बढी ब्युटिसियन उत्पादन हुँदै आएका छन्। तालिम पूरा गरेपछि अधिकांश प्रशिक्षार्थी रोजगारीका लागि विदेश जाने गरेका छन्। विभिन्न देश पुगेका उनीहरूले आफूले सिकेको सीपअनुसार आम्दानी गरिरहेका छन्।
नेपालमै रहनेहरू पनि आफ्नै पार्लर सञ्चालन गर्ने वा विभिन्न पार्लरमा ब्युटिसियनका रूपमा काम गर्ने गरेका छन्।यसले एउटा महत्वपूर्ण प्रश्न पनि जन्माउँछ, हरेक वर्ष उत्पादन भइरहेका हजारौँ ब्युटिसियन कहाँ खपत भइरहेका छन् ?संस्थाको अनुभवमा यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जाने गरेको छ। नेपालमा पनि सौन्दर्य व्यवसाय विस्तार भइरहेकाले दक्ष जनशक्तिको माग बढिरहेको छ।
‘सीप सिकौँ, भविष्य बनाऔँ’
सौन्दर्य व्यवसायलाई केवल सजावट वा मनोरञ्जनसँग जोडेर हेर्नेभन्दा यसलाई व्यावसायिक सीप र रोजगारीको क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना ठूलो छ।कपाल काट्नेदेखि नेल आर्ट, मेहन्दी, फेस आर्ट तथा विभिन्न सौन्दर्य सेवासम्मका सीप सिकेपछि रोजगारी खोज्न मात्र होइन, आफैँ व्यवसाय सञ्चालन गर्न पनि सकिन्छ।द ब्युटी वल्र्डको अभियान पनि यही अवधारणामा केन्द्रित देखिन्छ। आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई समेत सीप सिक्ने अवसर दिने र सीपलाई आम्दानीसँग जोड्ने प्रयासले सीप विकासको महत्वलाई थप उजागर गरेको छ।‘सीप सिकेर काम गरौँ, पार्लर खोलौँ, विदेश जाऔँ’ भन्ने प्रशिक्षार्थीहरूको लक्ष्यले पनि आजको पुस्ताले सीपलाई आफ्नो भविष्य निर्माणको आधारका रूपमा लिन थालेको देखाउँछ।हातमा सीप भए आम्दानीका लागि अरूको भर पर्नुपर्दैन। सीप आफ्नै हो, त्यसबाट हुने आम्दानी पनि आफ्नै हुन सक्छ। त्यसैले द ब्युटी वल्र्डको अभियान केवल ब्युटिसियन उत्पादन गर्ने अभियानमा सीमित छैन। यो सीपलाई रोजगारी, रोजगारीलाई आत्मनिर्भरता र आत्मनिर्भरतालाई समृद्धिसँग जोड्ने प्रयास पनि हो।









