दमक, २ असोज । दमक नगरपालिकाको वडा नम्बर ९ बालमैत्री वडा घोषणा गरिएको छ। नगरपालिकाका १० वटा वडामध्ये वडा नम्बर ९ बालमैत्री वडा घोषणा हुने छैटौँ वडा बनेको हो।
शुक्रबार पाणिनी माध्यमिक विद्यालयको सभाहलमा विशेष कार्यक्रम आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो। कार्यक्रममा दमक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञ निरौलाले बालमैत्री वडाको प्रमाणपत्र पढेर सुनाउनुभयो। त्यसपछि नगर प्रमुख रामकुमार थापाले वडा अध्यक्ष कुबेर भट्टराईसहित वडा परिवारलाई बालमैत्री वडाको प्रमाणपत्र प्रदान गर्नुभयो।
आवश्यक सूचक पूरा गरेपछि घोषणा
बालमैत्री वडा घोषणा गर्न आवश्यक सबै सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको निर्देशनमा नगरपालिकाले वडा नम्बर ९ लाई बालमैत्री वडा घोषणा गरेको हो।
घोषणाअघि जिल्ला समन्वय समिति झापाले वडामा बालबालिकाको क्षेत्रमा भएका काम, उपलब्धि र बालमैत्री वडा घोषणा गर्न आवश्यक आधार पूरा भए–नभएको विषयमा अनुगमन गरेको थियो।
अनुगमनपछि वडा नम्बर ९ बालमैत्री वडा घोषणा गर्न योग्य रहेको प्रतिवेदन प्राप्त भएपछि औपचारिक रूपमा घोषणा गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो।
वडा नम्बर ९ मा सामुदायिक तथा निजी गरी १३ वटा शैक्षिक संस्था छन्। नेपालकै नमुना सामुदायिक क्याम्पसका रूपमा चिनिएको दमक बहुमुखी क्याम्पस पनि यही वडामा पर्छ। बालमैत्री वडा निर्माणमा शैक्षिक संस्थाहरूको महत्वपूर्ण योगदान रहेको भन्दै कार्यक्रममा ती संस्थालाई सम्मानसमेत गरिएको थियो।
त्यस्तै, वडाका ६२ वटा टोल विकास संस्था, विभिन्न सामाजिक संघ–संस्था तथा राजनीतिक र सामाजिक व्यक्तित्वहरूले पनि बालमैत्री वडा निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो।
घोषणा मात्र होइन, व्यवहारमै बालमैत्री वडा
बालमैत्री वडा घोषणा भएपछि अब वडाले के गर्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
बालमैत्री वडा घोषणा गर्नु भनेको एउटा कार्यक्रम गरेर प्रमाणपत्र लिने विषय मात्र नभएको सरस्वती माध्यमिक विद्यालय इटाभट्टाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी गौतमले बताउनुभयो।
उहाँका अनुसार विद्यालयमा बाल क्लब गठन गर्ने, टोलस्तरमा बाल क्लबलाई सक्रिय बनाउने र बालबालिकाको अधिकार तथा सहभागितालाई व्यवहारमै सुनिश्चित गर्न सबै पक्षको भूमिका आवश्यक हुन्छ।
यही वडामा रहेको अनाथ बालवृद्धाश्रमकी अध्यक्ष मन्दिरा चिमरियाले बालमैत्री वडा घोषणा हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले बाल अधिकार सुनिश्चित गर्न समाजका सबै तह र पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
अबको चुनौती कार्यान्वयन
दमक–९ का वडा अध्यक्ष कुबेर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाका विभिन्न सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा वडा अध्यक्ष भट्टराईले बालबालिकाको अधिकारको अवस्था वडामा कस्तो छ भन्ने विषयमा निरन्तर खबरदारी आवश्यक रहेको बताउनुभयो। बाल अधिकारको संरक्षण र प्रवद्र्धनका लागि वडाले नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उहाँको भनाइ थियो।
वडाले बालमैत्री घोषणा पत्रसमेत तयार पारेको छ। उक्त घोषणापत्र वडाका शैक्षिक संस्था, विभिन्न सार्वजनिक स्थान र वडा कार्यालयमा समेत स्पष्ट रूपमा राख्ने तयारी गरिएको वडा सचिव भोसु थुलुङले बताउनुभयो।
बालमैत्री वडा घोषणा आफैँमा उपलब्धि हो। तर, यसको वास्तविक परीक्षा अब सुरु हुन्छ। बालबालिकाको सहभागिता, संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षा र अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न सकियो भने मात्र बालमैत्री वडा घोषणाको अर्थ सार्थक हुनेछ।
त्यसैले प्रमाणपत्रमा सीमित नभई बालबालिकाका सवाललाई वडा तहको नीति, कार्यक्रम र बजेटको निरन्तर प्राथमिकतामा राख्नु अब वडा नम्बर ९ को मुख्य जिम्मेवारी हुनेछ।









