विराटनगर , असोज ३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ ।संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।मुख्यमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा राज्यका सबै तह र निकायमा सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । सामाजिक तथा आर्थिक विकासलाई तीव्रता दिँदै राष्ट्रिय पुँजी निर्माण र समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा सबैको साझा भूमिका आवश्यक रहेको उहाले उल्लेख गर्नुभयो ।
राजनीतिक स्थायित्वका लागि समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयबाट मात्रै विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उहाले उल्लेख गर्नुभयो ।बदलिँदो विश्व परिवेश तथा तीव्र सामाजिक, आर्थिक र प्राविधिक परिवर्तनलाई आत्मसात् गर्दै राष्ट्रिय हितको प्रवद्र्धनमा अघि बढ्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले संविधानको संरक्षण र समृद्धिको यात्रामा युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई जोड्नुपर्नेमा जोड दिनुभएको छ ।









