असोज ३ । क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ।स्मार्ट चस्माको सामाजिक प्रभावबारे विश्वभर चिन्ता बढिरहेका बेला फ्रान्समा यस्तो अनुसन्धान अघि बढेको हो। फ्रान्सको डेटा संरक्षणसम्बन्धी नियामक निकायले कार्यस्थलमै स्मार्ट चस्माको दुरुपयोग भएको भन्दै उजुरीहरू प्राप्त भएको जनाएको छ।रोयटर्सका अनुसार, पेरिस अभियोजन कार्यालयले सामाजिक सञ्जालमा फैलिएको एउटा प्रवृत्तिसँग सम्बन्धित यौन दुर्व्यवहारका उजुरी परेपछि अनुसन्धान सुरु गरेको हो। उक्त प्रवृत्तिमा स्मार्ट चस्मा प्रयोग गरी सडकमा हिँडिरहेका महिलाको जानकारी वा सहमतिबिना भिडियो खिच्ने र त्यसलाई अनलाइनमा पोस्ट गर्ने गरिएको आरोप छ।अनुसन्धानका क्रममा कुन कम्पनीको स्मार्ट चस्मा प्रयोग भएको थियो भन्ने अभियोजन कार्यालयले खुलाएको छैन। कार्यालयका अनुसार, साइबर अपराधसम्बन्धी अनुसन्धान टोलीले सम्भावित अपराधमा यस्ता उपकरणको प्रयोग कसरी हुन सक्छ भन्ने बुझ्न करिब दुई साताअघि स्मार्ट चस्माको परीक्षणसमेत गरेको थियो।
मेटाका स्मार्ट चस्मामाथि विशेष चासो
बजारमा विभिन्न कम्पनीका स्मार्ट चस्मा उपलब्ध छन्। तर, अमेरिकी प्रविधि कम्पनी ‘मेटा’ र इटालियन–फ्रान्सेली चस्मा निर्माता ‘एसिलोरलक्सोटिका’ले संयुक्त रूपमा उत्पादन गरेका स्मार्ट चस्मा बजारमा सबैभन्दा बढी लोकप्रिय छन्।विश्वव्यापी स्मार्ट चस्मा बजारमा मेटाको उत्पादनको हिस्सा करिब ७६ प्रतिशत रहेको अनुमान छ। मेटाका एआई–सक्षम स्मार्ट चस्मामा सानो क्यामेरा जडान गरिएको हुन्छ, जसबाट प्रयोगकर्ताले हात नचलाइकनै फोटो तथा भिडियो खिच्न सक्छन्। कम्पनीका अनुसार, गत वर्ष यस्ता चस्मा करिब ७० लाख थान बिक्री भएका थिए। एसिलोरलक्सोटिकाको पछिल्लो बिक्री विवरणले सन् २०२६ मा यसको माग तीव्र गतिमा बढिरहेको सङ्केत गरेको छ।तर, लोकप्रियता बढेसँगै यस्ता उपकरणका कारण गोपनीयता भङ्ग हुने, यौन दुर्व्यवहार बढ्ने, कर्पोरेट अपराध हुने र अवैध निगरानी हुने भन्दै चिन्ता पनि बढेको छ।
फ्रान्समा कार्यस्थलबारे पनि उजुरी
फ्रान्सको डेटा संरक्षण नियामक (सीएनआईएल) ले कार्यस्थलमा स्मार्ट चस्माको प्रयोगसम्बन्धी केही उजुरी प्राप्त भएको जनाएको छ। ती उजुरी कुन ब्रान्डका उपकरणसँग सम्बन्धित थिए भन्ने खुलाइएको छैन। सीएनआईएलका अनुसार, पछिल्लो समय कार्यस्थलमा स्मार्ट चस्मामाथि प्रतिबन्ध लगाउन मिल्छ कि मिल्दैन भन्नेबारे जानकारी माग्दै व्यवसायहरूले समेत नियामक निकायसँग सम्पर्क गर्न थालेका छन्।सीएनआईएलकी आर्थिक मामिला प्रमुख नासेरा बेखातले स्मार्ट चस्माले मानिसलाई ‘आफूहरूको भिडियो खिचिँदै छ’ भन्ने जानकारी दिने र आवश्यक अवस्थामा उनीहरूको सहमति लिने विषयमा विशेष चुनौती भएको बताएकी छन्।
‘रेकर्ड भइरहेको बत्ती बल्दैमा सहमति हुँदैन’
स्मार्ट चस्मामा भिडियो रेकर्ड भइरहेको सङ्केत दिन फ्रेममा सानो बत्ती बल्ने व्यवस्था हुन्छ। तर, अधिकारवादी समूहहरूले यस्तो सङ्केत मात्र पर्याप्त नहुने बताएका छन्। इन्टरनेट सुरक्षा संस्था ‘ई–इन्फेस’की कानुनी विज्ञ इनेस लेजेन्द्रका अनुसार, चस्मामा बत्ती बलेको देखिँदैमा कसैले भिडियो खिच्न अनुमति दिएको वा आफ्नो तस्बिर हजारौँ मानिससम्म पुर्याउन सहमति दिएको अर्थ लाग्दैन।उनका अनुसार, भिडियो रेकर्ड भइरहेको जानकारी दिनु र त्यसको प्रयोग तथा वितरणका लागि सहमति लिनु नितान्त फरक विषय हुन्। फ्रान्सेली कानुनले निजी स्थानमा कुनै व्यक्तिको सहमतिबिना उसको तस्बिर वा भिडियो रेकर्ड गर्ने कार्यमाथि प्रतिबन्ध लगाउँदै गोपनीयताको सुरक्षा प्रदान गर्छ। यस्तो कसुरमा एक वर्षसम्म कैद वा ४५ हजार युरोसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। तर, डिजिटल सामग्री केही क्षणमै सामाजिक सञ्जालमा फैलिन सक्ने भएकाले कानुन कार्यान्वयनमा ठूलो चुनौती रहेको अधिकारीहरूले बताएका छन्।
महिलामाथि बढी जोखिम
अधिकारवादी समूहहरूका अनुसार, स्मार्ट चस्माको दुरुपयोगबाट हुने अनलाइन तथा प्रत्यक्ष दुर्व्यवहारमा महिलाहरू प्रमुख निसाना बन्न सक्ने जोखिम छ। एक नारीवादी संस्थामा प्रविधिबाट हुने लैङ्गिक हिंसासम्बन्धी परियोजना सञ्चालन गर्ने इनेस जिरार्डले यस्ता उपकरणको दुरुपयोग रोक्न प्रविधि उद्योगले थप जिम्मेवारी लिनुपर्ने बताएकी छन्।‘सावधान रहनू भन्दै महिलामाथि नै बोझ थुपार्नु समाधान होइन,’ उनले भनेकी छन्। यसले विशेषगरी महिला, लैङ्गिक अल्पसंख्यक तथा सार्वजनिक स्थानमा पहिले नै हिंसा र अनलाइन दुर्व्यवहारको जोखिममा रहेका मानिसमाथि थप मानसिक दबाब पर्ने उनको भनाइ छ।
अन्य देशमा पनि प्रतिबन्धको बहस
स्मार्ट चस्माको दुरुपयोगबारे फ्रान्समा मात्र होइन, अन्य देशमा पनि बहस सुरु भएको छ। बेलायतका केही सिनेमाघरले क्यामेरा जडित स्मार्ट चस्मामाथि प्रतिबन्ध लगाएका छन्। जर्मनीमा उपभोक्ता अधिकारसम्बन्धी एउटा समूहले गोपनीयता कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै मेटालगायत स्मार्ट चस्मा बिक्रीमा संलग्न कम्पनीविरुद्ध आपराधिक उजुरी दिएको छ।त्यस्तै, अस्ट्रेलियाले पनि सरकारी कार्यालयमा क्यामेरा जडित स्मार्ट चस्माको प्रयोग रोक्नेबारे विचार गरिरहेको जनाएको छ। गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण यस्तो कदम चाल्न लागिएको हो।यता मेटाले भने आफ्ना एआई स्मार्ट चस्मामा सुरुदेखि नै गोपनीयतालाई ध्यानमा राखिएको दाबी गर्दै आएको छ। कम्पनीका प्रवक्ताले चस्मा अझ क्षमतावान् हुँदै जाँदा गोपनीयता सुरक्षालाई पनि थप बलियो बनाउँदै लगिने बताएका छन्।









