बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा गत शैक्षिकसत्र मंसिरदेखि नै विज्ञान विषयको दरबन्दीमा शिक्षक नपाएपछि भदौ ३० मा १५ औं पटक १५ दिने सूचना प्रकाशित गरेको छ । गत शैक्षिक सत्रको मंसिरदेखि विज्ञान शिक्षकको लागि लगातार १४ पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त नपरेकाले १५ औं पटक पनि विज्ञापन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक (प्र.अ) शुक्रबहादुर चन्दले बताउनुभयो। यसअघि कार्यरत शिक्षक घरपायक सरुवा भएर जानुभएको थियो ।
‘अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका त धेरै जना सम्पर्कमा आउँछन्,’ उनले भने, ‘लाइसेन्स भएको विज्ञान शिक्षक कोही पनि सम्पर्कमा आउँदैनन् ।’अहिले विद्यालयमा निमावि तहका एक जना बिएस्सी र गणित शिक्षकबाट मावि तहको विज्ञान विषय अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रअ चन्दले बताउनुभयो । विद्यालयले पहिलो पटक एक महिनाको र त्यसपछि एक साता र अहिले हरेक १५ दिनमा विज्ञापन गर्दै आएको विद्यालयका लेखापाल जीवनसिंह मंगोलाले जानकारी दिनुभयो ।जिल्ला सदरमुकामबाट दुर्गम भारतसँग सिमाना जोडिएको ठाउँ भए पनि सडक, बिजुली र इन्टरनेटलगायत सबै सुविधा भएको विद्यालयमै पनि शिक्षक नभेटिने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण चन्दले बताउनुभयो।









