दमक, ४ असोज । दाँतमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका दमकका विमल नेपालले सहज रूपमा उपचार पाएपछि खुसी व्यक्त गर्नुभएको छ।
ग्रील व्यवसाय गर्दै आउनुभएका नेपाललाई केही समयदेखि दाँतमा समस्या थियो। सुरुमा सामान्य समस्या ठाने पनि पछि दुखाइ बढ्दै गएपछि उहाँलाई खान तथा चपाउनसमेत समस्या हुन थालेको थियो।
समस्या बढ्दै गएपछि उपचारका लागि उहाँ दमक–६ बेलडाँगी रोडमा रहेको ओम शान्ति डेन्टल हस्पिटल पुग्नुभयो। अस्पतालमा उपचारका लागि राखिएको कुर्सीमा बसेर उहाँले भन्नुभयो, “अहिले त्यो दाँत निकालेर फालियो। निकै आनन्द भएको छ।”
ओम शान्ति डेन्टल हस्पिटलमा दाँतसम्बन्धी विभिन्न समस्याको उपचार हुँदै आएको छ। अस्पतालमा परामर्श केन्द्रका रूपमा मात्र नभई दाँतसम्बन्धी विभिन्न विधाका विशेषज्ञमार्फत सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालमा दन्त शल्यचिकित्सकका रूपमा कार्यरत डा. टंक न्यौपानेले दाँतसम्बन्धी जुनसुकै समस्या भए पनि उपचार सम्भव रहेको बताउनुभयो। उहाँले समस्या जटिल बन्नुअघि नै उपचारका लागि अस्पताल आउन आग्रह गर्नुभयो।
दमकमा दाँतसम्बन्धी उपचारका लागि सञ्चालनमा रहेको ओम शान्ति डेन्टल हस्पिटलमा दैनिक करिब एक सय जना बिरामीले सेवा लिने गरेका छन्। अस्पताल बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने जनाइएको छ।









