गोरखा , असोज ४ । हिमतालबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको माग राख्दै गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा युवाहरूले सुरु गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ। गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर एक र सात का एघार जना युवाहरू पाँच हजार तीस मिटरको उच्च हिमाली भेगमा अनशन बसिरहेका छन्।अनशनरत युवा दावा नोर्बु लामाका अनुसार आधार शिविर क्षेत्रमा विगत केही दिनदेखि निरन्तर भारी हिमपात भइरहेको छ।
अत्यधिक चिसो र हिमपातका बीच खुला आकाशमुनि अनशन जारी राख्दा युवाहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र स्वास्थ्य समस्या देखिन थालेको छ।यसैबीच, जिल्ला प्रशासन कार्यालय गोरखा र राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाले युवाहरूको बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राख्दै अनशन तोडेर तत्काल वार्तामा आउन आह्वान गरेका छन्।









