काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ ।हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअले शनिबार रियादका ‘संवेदनशील स्थल’ तथा रेड सी तटको यान्बुस्थित सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी ‘ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन’ प्रयोग गरिएको बताउनुभएको छ ।साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको बताउनुभएको छ ।
थप आक्रमण वा मानवीय क्षतिबारे भने उहाहरुले पुष्टि गर्नुभएको छैन ।शनिबार साउदी राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँको मुस्लो उठेको देखिएको थियो । आक्रमणका कारण केही समय उडानसमेत प्रभावित भएको जनाइएको छ । हुथीले साउदी आक्रमणको जवाफमा आक्रमण गरेको दाबी गरेको छ । हुथीका प्रवक्ता अल–सरीअले साउदीले यमनको राजधानी सानामाथि गरेको ‘आपराधिक प्रयास’को जवाफमा आक्रमण गरिएको बताउनुभएको छ । उहाका अनुसार साउदीले पछिल्लो एक सातामा यमनमा ३ सय पटक आक्रमण गरेको थियो ।साउदी नेतृत्वको गठबन्धनका एक अधिकारीका अनुसार बिश, ताइफ, फरासन र यान्बु सहरमा सर्वसाधारणलाई लक्षित गर्ने ‘शत्रुतापूर्ण प्रयास’लाई पनि हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।









