कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।
१५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका अधिवेशन अघि बढाउन भट्टले आवश्यक प्रक्रिया अगाडि नबढाएपछि केन्द्रीय कार्यालयले बडुवाललाई जिम्मेवारी दिएको हो।
महामन्त्री प्रदीप पौडेलले हस्ताक्षर गरेको पत्रमार्फत बडुवाललाई केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरी कैलालीका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिइएको छ।
कांग्रेसले विधान, २०७६ अनुसार यस्तो निर्णय गरेको जनाएको छ। पत्रको बोधार्थ केन्द्रीय निर्वाचन समिति र कैलाली जिल्ला कार्यसमितिलाई समेत पठाइएको छ।









