दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो। जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले वडालाई बालमैत्री वडा भएको प्रमाणपत्र प्रदान गर्दै वडालाई बालमैत्री घोषणा भएको प्रमाणित गर्नुभयो। यस्तै, दमक नगरपालिकाले तयार पारेको बालमैत्री वडा घोषणाको प्रमाणपत्रसमेत वडालाई हस्तान्तरण गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले वडा नं. ६ ले बालमैत्री वडा बन्न आवश्यक सूचक पूरा गरेको भन्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। यो वडालाई बालमैत्री वडा बनाउन यहाँ रहेका शैक्षिक संस्था, सामाजिक संघ–संस्था, विभिन्न राजनीतिक दल, टोल विकास संस्था, बाल क्लब तथा बाल सञ्जालको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई सम्मान तथा प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।
दमकका १० वडामध्ये नवौँ वडाका रूपमा यो वडा बालमैत्री बन्न सफल भएको हो। कार्यक्रममा विशेष अतिथिका रूपमा आमन्त्रित नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बधाईसहित शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले वडा तथा नगरका सबै सरोकारवालाको सक्रिय सहभागिताले मात्र वडा नं. ६ ले यो उपलब्धि हासिल गर्न सकेको भन्दै सबैको प्रशंसा गर्नुभयो। वडाध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडामा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुति समेत दिएका थिए। दमकमा अब वडा नं. ३ मात्र बालमैत्री वडा घोषणा हुन बाँकी छ। यो वडालाई पनि आगामी शुक्रबार बालमैत्री वडा घोषणा गरिँदैछ। त्यसपछि कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको टोलीले अनुगमन गरी प्रतिवेदन तयार पारेपछि सिङ्गो नगरलाई नै बालमैत्री नगर घोषणा गरिने जनाइएको छ।









