लगातारको वर्षा र पहिरोले राजधानीको भान्सा प्रभावित : तरकारीको भाउ आकासियो

९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको पहिरोले यातायात आवागमन पूर्णरूपमा प्रभावित हुँदा यसको प्रत्यक्ष असर संघीय राजधानी काठमाडौंको भान्सामा परेको छ ।पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । कतिपयप ठाउँमा पहिरो पन्छाइसकिएको र कतिपय ठाउँमा पन्छाउने काम जारी छ ।बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् । यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू आवतजावत गर्न सकेका छैनन् ।काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौँडा–नौबिसे–काठमाडौं) सडक एकतर्फी मात्रै सञ्चालनमा छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्यावश्यक सामग्री काठमाडौं ल्याउनका लागि त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको छ ।बाटो अवरुद्ध हुँदा उपत्यकामा तरकारी तथा फलफूलको आपूर्तिमा भारी गिरावट आएको छ भने बजारमा तरकारीको थोक मूल्यमै अचाक्ली वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार हिजो बिहीबार तरकारी, फलफूल, माछा लगायत कुल ६ लाख ५७ हजार ३ सय ८ किलो कृषि उपज भित्रिएकोमा आज शुक्रबार आपूर्तिमा ८५ प्रतिशतभन्दा बढीको गिरावट आइ जम्मा ९७ हजार ६ सय ५१ किलो मात्र भित्रिएको छ ।आपूर्तिमा आएको यो संकुचनसँगै बजारमा ३६ वटा विभिन्न तरकारी तथा मसलाजन्य उपजको थोक मूल्यमा हिजोको तुलनामा आज भारी वृद्धि भएको छ । फलफूलको मूल्य भने तुलनात्मक रूपमा स्थिर देखिएको छ ।बाटो अवरुद्ध हुँदा सबैभन्दा ठूलो मार हरियो सागपात र धनियाँमा परेको छ । हिजो बिहीबार प्रतिकिलो औसत १ सय २५ रुपैयाँमा बिक्री भएको हरियो धनियाँको थोक मूल्य आज एकैदिन ३ सय २५ रुपैयाँले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।त्यसैगरी हरियो प्याज १ सय ७५ रुपैयाँबाट बढेर २ सय ७५ रुपैयाँ, जिरीको साग १ सय रुपैयाँबाट १ सय ७५ रुपैयाँ र सेलरी ३०० रुपैयाँबाट बढेर ३ सय ५० रुपैयाँ कायम भएको छ ।नेपाली भान्सामा नियमित प्रयोग हुने रायोको साग ८० रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ, पालुङ्गो साग १ सय रुपैयाँबाट १ सय १० रुपैयाँ, तोरीको साग ६५ रुपैयाँबाट १ सय १० रुपैयाँ र सौफको साग १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।दैनिक उपभोग्य प्रमुख तरकारीहरू गोलभेँडा, काउली र बन्दाको भाउ पनि उकालो लागेको छ । बिहीबार ७५ रुपैयाँमा किनबेच भएको ठूलो नेपाली गोलभेँडा र ८५ रुपैयाँ पर्ने ठूलो भारतीय गोलभेँडा दुवैको मूल्य आज प्रतिकिलो ९५ रुपैयाँ कायम छ ।

सानो लोकल गोलभेँडा ५५ रुपैयाँबाट ६३ रुपैयाँ र टनेलको सानो गोलभेँडा ६८ रुपैयाँबाट बढेर ७५ रुपैयाँ ६३ पैसा पुगेको छ ।यसैगरी स्थानीय काउली हिजोको ९७ रुपैयाँबाट बढेर १ सय २८ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ४५ रुपैयाँबाट ६० रुपैयाँ र रातो बन्दा ४५ रुपैयाँबाट ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै हाइब्रीड सेतो मूला ४५ रुपैयाँबाट ५५ रुपैयाँ र गान्टे मूला १ सय रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ पुगेको छ ।हिजो १ सय १५ रुपैयाँ प्रतिकिलो रहेको हरियो भटमास आज १ सय ९० रुपैयाँ पुगेको छ । तितो करेला ६४ रुपैयाँबाट बढेर ७५ रुपैयाँ, लौका ५४ रुपैयाँबाट ६५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँबाट ४५ रुपैयाँ पुगेको छ । यसैगरी डल्लो हरियो फर्सी ३५ रुपैयाँबाट बढेर ५५ रुपैयाँमा किनबेच हुँदा लाम्चो भन्टा ३५ रुपैयाँबाट ४५ रुपैयाँ र डल्लो भन्टा ४५ रुपैयाँबाट ५५ रुपैयाँ कायम छ ।मसलाजन्य उपजहरूमा हरियो खुर्सानीको मूल्यले आकाश छोएको छ । हिजो बिहीबार ९५ रुपैयाँ प्रतिकिलो रहेको लामो हरियो खुर्सानी आज २ सय ११ रुपैयाँ पुगेको छ भने माछे खुर्सानी ७५ रुपैयाँबाट बढेर ९५ रुपैयाँ कायम भएको छ ।त्यस्तै, अकबरे खुर्सानी ९८ रुपैयाँबाट १ सय २५ रुपैयाँ र भेंडे खुर्सानी ७५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ ।तरकारीको मूल्यमा सर्वत्र उछाल आउँदा स्याउ, केरा, अनार, मौसम, जुनारलगायतका प्रमुख फलफूलहरूको मूल्य भने हिजोकै दरमा स्थिर रहेको समितिले जनाएको छ । यातायात सुचारु नहुँदासम्म खुद्रा बजारमा पुग्दा उपभोक्ताले यी तरकारीहरूमा अझ बढी मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

काठमाडौं ,९ असोज। नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । शुक्रबार जापानको कोरोगी एथलेटिक पार्कमा भएको

राष्ट्रसंघमा नेपालको आवाज बुलन्द पारेको भन्दै जेनजी अगुवाद्वारा प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं , असोज ९ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।उनीहरूले नेपालको राष्ट्रिय हित,

झापामा अहिले प्रश्न सडकको मात्रै होइन—नदीको बहाव बढ्दै जाँदा कुन बस्तीमा पानी पस्ने हो भन्ने जोखिम पनि बढेको छ

झापा,९ असोज। झापामा लगातार वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढेपछि जिल्लाका विभिन्न तटीय तथा होचा भूभागमा बाढी र डुबानको जोखिम बढेको छ। जिल्ला प्रशासनका

२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५/२ मिलिमिटर मापन

काठमाडौं ,९ असोज। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ ।   नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको

लगातारको वर्षा र पहिरोले राजधानीको भान्सा प्रभावित : तरकारीको भाउ आकासियो

९ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ ।लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको

वर्षाले थलियो देश!: विभिन्न राजमार्ग बन्द, वर्षासँगै के छ देशभरको अवस्था

असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षासँगै पहिरो, बाढी र सडक भासिँदा विभिन्न राजमार्गको यातायात प्रभावित भएको छ। कहीं सडक पूर्ण