फुईयाको फुरफुर – ३३
हरेक साल श्रावण महिना आउँछ र जान्छ। दर्शनार्थीहरु बोलबम बाबा धाम भन्दै पहेँलो गेरु वस्त्र धारण गर्दै,बम भोलेनाथ भनेर चिच्याउँदै, रमाउँदै गाउँदै, धार्मिक पर्यटक बनेर दर्शन गर्दछन्। सबैको मनोकामना फरक फरक नै हुन्छ, कसैको लागि के, त कसैको लागि के। उसले पनि कमण्डलु बोक्यो, पहेँलो गेरु वस्त्र धारण गर्यो, एक हातमा सानो त्रिशूल बोक्यो, अर्को हातमा कमण्डलु अनि हिड्यो बोल बम भन्दै। उसले पानी चढायो। भोलेनाथ प्रत्यक्ष दर्शन दिन आए अनि सोधे, “हे वत्स, के चाहियो माग तिमी?” उसले जवाफ दियो, “महादेव मलाई संसारकै राम्री श्रीमती चाहियो”। महादेवले हासेर जवाफ दिए, “म आफैँ सँग भूत प्रेत मात्रै छन”। राम्री माग्न गएको उसको फुईयाको फुरफुर ।
फुईयाको फुरफुर -३४
उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्। बालकको लागि अभिभावक तथा वृद्धको लागि लाठी। लडेर जसले उठ्न सक्छ, अगाडि बढ्ने उही हो। भैरव अर्यालको भाषामा भन्दा हिड्ने मान्छे लडेपछि सिदै कैलाश पुग्छ। आलु खाएर, हावा खाएर, हरी गएर। देशमा नारा चल्दैथियो, क्रान्ति, त्याग, र संघर्ष सहित सहिदहरुको बलिदानले ठाउँ पाउँदै थियो। उसले आएर प्याच्च बोल्यो, लाशहरुमा आलु राख्दिनु, चितामै हुँदा किनकि यी सबैले आलु खाए,सबैले हावा खाए, सबैको हरी उड्यो। जब हिड्ने मान्छे लडेर उठ्न सक्दैन, तब तब उ सधैंको लागि अस्त्ताउँछ। त्यसैले हिड्ने मान्छेले लडेर उठ्न सक्नुपर्छ। फुईयाको फुरफुर।
फुइयाको फुरफुर-३५
उसले शास्त्र पढेको थियो। एक दिन मन्दिर गयो तर अन्य भन्दा फरक शैलीमा। उसले जुत्ता लगाएरै महादेवको दर्शन गर्यो, अनि आफ्नो ध्यान प्रस्तुत गर्यो। किन मन्दिरमा जुत्ता चप्पल वर्जित छ? जबकि छाला स्वयम् मानिसकै शरिरमा पनि छ। छाला का जुत्ता र बेल्ट कसको लागि एकछिन खोलेर राख्ने? के महादेव कै लागि? उसले महादेव सँग प्रश्न गर्यो, हे महादेव, के फूल प्राणी होइनन, के फूललाई बाँच्ने अधिकार छैन? के फूलले महादेवलाई पूजा गरेर महादेव कै सामुन्ने कुहिनु पर्ने, फोहोरमा परिणत हुनु पर्ने, फोहोर बनेर सेलाउनु पर्ने? तब महादेवले बोले, “जन्म र मृत्यु प्राकृतिक नियम हो, त्यस फूलको आयु त्यति नै थियो, मैले आफ्नो मन पर्ने कुरालाई मात्रै आफू सम्मुने राख्छु। पूजामा प्रयोग नभएको भए पनि कुनै पशुले खान्थे”। फुईया को फुरफुर ।









