तिब्बतसँग सीमा जोडिएको पश्चिमी नेपालस्थित मनाङको हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो जाँदा कम्तीमा १० जना बेपत्ता भएका छन्।
अभियान आयोजक मिङ्मा ग्याल्जे शेर्पाले हिमपहिरोमा आफ्ना दुई जना भान्से कर्मचारीसमेत बेपत्ता भएको पुष्टि गर्नुभयो।
उहाँका अनुसार आइतबार बिहान हिमपहिरो खसेको हो।
गत हप्ता जारी मौसमसम्बन्धी चेतावनीपछि अभियान टोली र डोरी टाँग्ने टोलीहरू हिमालका भिराला भागबाट सुरक्षित स्थानतर्फ फर्किएका थिए।
तर केही मानिसहरू त्यहीँ रोकिएका कारण हिमपहिरोमा उनीहरू बेपत्ता भएको बताइएको छ।
केही दिनदेखि उक्त हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको थियो, जसका कारण शरद ऋतुको आरोहण अभियान रोक्दै आरोहीहरू तल फर्किएका थिए।
आइतबारको हिमपहिरोमा बेपत्ता भएकाहरू विभिन्न एक्सपिडिसन कम्पनीका रहेको बताइएको छ।
मनाङमा रहेको ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हेलिकप्टर उडानका लागि अतिरिक्त अनुमति आवश्यक पर्ने भएकाले उद्धारमा समेत कठिनाइ हुने गरेको छ।
उच्च उचाइको अनुभव लिन चाहने आरोहीका लागि हिमलुङ हिमाल लोकप्रिय गन्तव्य मानिन्छ।
बंगालको खाडीमा विकसित मौसम प्रणालीका कारण नेपालका हिमाली क्षेत्रमा भारी हिमपात तथा पहाडी र तराईका क्षेत्रमा निरन्तर वर्षा भइरहेको समयमा हिमपहिरो गएको हो।
शुक्रबारदेखि जारी प्रतिकूल मौसमका कारण देशका विभिन्न क्षेत्रमा सडक यातायातसमेत प्रभावित भएको छ भने स्थानीय प्रशासनले जोखिमयुक्त सडकखण्डमा यातायात बन्द गरेका छन्।
मौसम बिग्रिएपछि पर्यटन अधिकारीहरूले पदयात्री तथा आरोहीलाई आफ्ना गतिविधि स्थगित गर्न आग्रह गरेका छन्। पर्यटन विभागले समेत सतर्कता सूचना जारी गर्दै पर्यटकीय गतिविधि रोक्न सल्लाह दिएको छ।









