क्वालालम्पुर । ११ असोज । मलेसियामा कार्यरत ४ लाखभन्दा बढी नेपाली श्रमिकको पारिश्रमिक बढ्न सक्ने गरी न्यूनतम तलब वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ।
मलेसियन ट्रेड्स युनियन कंग्रेस, एमटीयूसीले सन् २०२७ को बजेटमार्फत न्यूनतम मासिक तलब ३ हजार १०० मलेसियन रिंगिट पुर्याउन माग गरेको हो।
हाल मलेसियामा लागू न्यूनतम मासिक तलब १ हजार ७०० रिंगिट छ। एमटीयूसीको प्रस्ताव कार्यान्वयन भए न्यूनतम तलबमा १ हजार ४०० रिंगिटसम्म वृद्धि हुनेछ।
मलेसिया सरकारको २०२७ को बजेटमा पनि श्रमिकको कल्याण र मर्यादित पारिश्रमिकलाई प्राथमिकतामा राखिएको छ। सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने विषयलाई बजेटका प्राथमिकतामध्ये समेटेको छ।
मलेसियाको मानवअधिकार आयोग SUHAKAM का अनुसार अहिले मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्।
मलेसियाको २०२७ को बजेट आगामी अक्टोबर ९ मा संसदमा प्रस्तुत हुँदैछ। त्यसबाट न्यूनतम तलबसम्बन्धी अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।
मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य हो।









