काठमाडौँ,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले अविरल वर्षाका कारण नवलपुरसहित देशका विभिन्न क्षेत्रमा भएको क्षतिको तत्काल अध्ययन गरी राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले नारायणी नदीमा हालसम्मकै उच्च बहाव आएपछि नारायणी किनारका अमलटारी, सेहरी, तमासपुर, बहुवनलगायत क्षेत्रसँगै सिङ्गो सुस्ता गाउँ डुबानमा परेको बताउनु भयो।
उहाँका अनुसार नदी तटीय क्षेत्रमा जोखिम बढेपछि नवलपुरबाट करिब २३५ घरधुरीका १ हजार १ सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। नदीको सतह घटे पनि विस्थापितहरू तत्काल घर फर्किन सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो।
उहाँले भन्नुभयो, ‘डुबानको कारणले भएको क्षतिसँगसँगै बालीनाली र खेतीयोग्य जमिनमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लियोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद खनालले प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पु¥याउन तथा बाढी र डुबानको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभयो।
केही हप्ता अगाडि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका प्रमुखको नेतृत्वमा नारायणी नदीको कटान तथा डुबान नियन्त्रणका सम्बन्धमा अध्ययन भएको उल्लेख गर्दै उनले उक्त प्रतिवेदन ऊर्जा मन्त्रालयमा झिकाएर कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो।
त्यस्तै, बाढीका कारण कालीगण्डकी करिडोरको कालीगण्डकी मार्गमा समेत क्षति पुगेको भन्दै उहाँले सडकको मर्मत तथा पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो।
बौदीकाली गाउँपालिका हुँदै नवलपुर र तनहुँ जोड्ने झोलुङ्गे पुल तथा पक्की पुलमा समेत क्षति पुगेको भन्दै उहाँले ती संरचनाको पुनर्निर्माण गर्न माग गर्नुभयो।
बौदीकाली गाउँपालिका–४ को प्रदेश मार्गअन्तर्गत रुचाङस्थित मौलाथरमा पहिरोका कारण क्षति पुगेको भन्दै त्यसको समेत पुनर्निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
सांसद खनालले नवलपुरमा बाढी तथा पहिरोबाट भएको सम्पूर्ण क्षतिको थप अध्ययन गरी थप क्षति हुन नदिन सरकारले आवश्यक तयारी तत्काल थाल्नुपर्ने बताउनु भयो।


