काठमाडौँ , असोज १२। विगत केही दिनयताको अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति बाढी प्रभावित सम्पूर्ण जिल्लाहरूमा बुधबारसम्ममा सुचारु हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीपहिरोले विद्युत् आपूर्ति बाढी प्रभावित सम्पूर्ण जिल्लाहरूमा भोलि बुधवार सम्ममा सम्पूर्ण प्रभावित जिल्लामा विद्युत् आपूर्ति सहज हुने जानकारी दिएका हुन्। अविरल वर्षाका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा हिजो एकैदिन राष्ट्रिय प्रणालीबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् बाहिरिएको थियो। सडक अवरुद्ध हुँदा प्राविधिकहरूलाई कार्यक्षेत्रमा खटिन समस्या भए तापनि मर्मतको काम निरन्तर भइरहेको छ।
उत्पादन र प्रसारण लाइनमा व्यापक क्षति
प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको बाँध र टेलरेस गेटमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पसेको पानी र लेदो सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्नेछ।प्रसारणतर्फ कालीगण्डकी करिडोरको २२० केभी लाइन अन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। लाइनमा क्षति पुगेका कारण त्यस क्षेत्रका १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत् केन्द्रहरूले विद्युत् प्रवाह गर्न सकेका छैनन्।यद्यपि, राहुघाट सबस्टेसनमा जोडिएका १२७ मेगावाटका आयोजनाहरू भने उत्पादन सुचारु गर्न सक्ने अवस्थामा छन्। प्रणालीबाट पूर्ण रूपमा बाहिरिएका ८ वटा आयोजनाको कुल क्षमता भने २३० मेगावाट रहेको छ।
माग धान्न भारतबाट ११५४ मेगावाट आयात
एक हजार मेगावाटभन्दा बढी विद्युत् प्रणालीबाट बाहिरिएपछि माग धान्न प्राधिकरणले भारतबाट विद्युत् आयात गरिरहेको छ। अहिले आन्तरिक उत्पादनबाट जम्मा १२१८ मेगावाट विद्युत् मात्र उपलब्ध छ।आपूर्ति व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल ११५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसबाट कुल २३७२ मेगावाट विद्युत् उपलब्ध हुनेछ। जबकि वर्षाअघि सुख्खायामको उच्चतम माग २२९२ मेगावाट रहेको थियो।
भदौ १० को बाढीले ४ अर्बको क्षति
यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली थ्री बी २२० केभी हबलगायतका क्षेत्रमा क्षति पुर्याउँदा ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो।उक्त बाढीबाट प्राधिकरण र सहायक कम्पनीहरूको करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।हाल प्रभावित क्षेत्रका टनेल र पावरहाउसमा पसेको लेदो र फोहोर सफा गर्ने काम भइरहेको छ। सरसफाइ सकिएपछि मात्र क्षतिको वास्तविक मूल्याङ्कन गरी पुनर्निर्माण र बजेट व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।










