विराटनगर , असोज १५ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा बुधबार भएको झडप र तोडफोडको घटनामा पार्टीका शीर्ष नेता डा. शेखर कोइरालाको कुनै पनि किसिमको संलग्नता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिवेशनस्थलको घटनासँग नेता कोइरालाको नाम जोडेर भ्रामक दुष्प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।‘कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्ला संघीय क्षेत्र नं–६ को अधिवेशनस्थलमा भएको घटना र उक्त घटनासँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नामसमेत जोडेर गरिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। डा. शेखर कोइराला पार्टीको एकता महाधिवेशनका पक्षमा रहनुभएको र महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घटनामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछु,’ थपलियाले उल्लेख गरेका छन् ।
सचिवालयले घटनामा परी घाइते भएका पार्टीका नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा आयोजित मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा असोज १४ गते कार्यकर्ताबीच झडप, तोडफोड र कुटपिट भएको थियो।कार्यक्रमकी प्रमुख अतिथि एवं पार्टीकी सहमहामन्त्री डा. डिला (डिना) संग्रौलाले सञ्चारमाध्यमसँग कुरा गर्दै क्षेत्रीय सभापति देबु तामाङको योजनामा फलामको भाटासहित आक्रमण गरिएको र त्यसमा डा. शेखर कोइराला पक्षधर समर्थक तथा शुभेच्छुकहरूको संलग्नता रहेको आरोप लगाएकी थिइन्। सोही आरोप सार्वजनिक भएपछि डा. कोइरालाको सचिवालयले औपचारिक रूपमै खण्डन गर्दै घटनामा उनको कुनै भूमिका नरहेको र अनावश्यक रूपमा नाम मुछिएको प्रस्ट्याएको हो ।
उक्त घटनामा महासमिति सदस्य तथा पूर्वसांसद चुमनारायण तबदार, नेता चेतराज रेग्मी र उम्मेदवार सौरभ पोखरेलसहितका नेता कार्यकर्ता घाइते भएका थिए । घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।यसअघि नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले पनि विज्ञप्ति जारी गर्दै पार्टी कब्जा गर्ने र अधिवेशन भाँड्ने उद्देश्यले गरिएको यस सुनियोजित आक्रमणको घोर भर्त्सना गर्दै संलग्नहरूलाई तत्काल निलम्बन गरी विधानबमोजिम कडा कारबाही गर्न केन्द्रीय नेतृत्वसँग माग गरिसकेको छ। यता क्षेत्रीय सभापति देबु तामाङले भने क्रियाशील सदस्यताको पुरानो विवाद र सहमहामन्त्री संग्रौलाकै समूहभित्रको आन्तरिक उम्मेदवारीको किचलोका कारण तोडफोड भएको दाबी गरेका थिए। नेता कोइरालाको सचिवालयको स्पष्टोक्तिसँगै मोरङ–६ को अधिवेशन विवादमा गुटगत आरोप–प्रत्यारोप थप पेचिलो बनेको छ।










