विराटनगर । १५ असोज | कोशी प्रदेश सरकारले मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते आयोजना गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन गरी असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सम्मेलनको नयाँ मिति तय गरिएको जानकारी दिनुभयो।
बैठकले प्रदेश योजना आयोगमा विराटनगरका तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री शेर्पाले जानकारी दिनुभयो।









