नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्।
क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच प्रतिस्पर्धा हुने अवस्था बने पनि पछिल्लो सहमतिअनुसार अन्सारीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको हो।
अन्सारी हरिनगर गाउँपालिकाका अध्यक्षसमेत हुन्। उनले यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
क्षेत्रीय सभापतिको उम्मेदवारी घोषणा गर्दै अन्सारीले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने तथा कार्यकर्ताको भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए।
सुनसरी–४ को क्षेत्रीय अधिवेशनका क्रममा यसअघि मतदान प्रक्रियामा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको थियो।
विवादपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरी आवश्यक निर्णय गर्ने जनाएको थियो।
सर्वसम्मत चयन भएपछि अन्सारीले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र क्षेत्रका जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।









