इलाम,२१ असोज । चाडपर्व नजिकिएसँगै इलाम बजारमा गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री फेला परेका छन्। दसैँ–तिहारलाई लक्षित गरी गरिएको बजार अनुगमनमा विशेषगरी किराना पसलहरूमा त्यस्ता सामग्री छ्यापछ्याप्ती भेटिएका हुन्।
जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा भएको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको, कतिपयमा पुरानै मूल्यसूची झुन्ड्याइएको र बिलबिनै कारोबार भइरहेको पाइएको छ। टोलीले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा ध्यान दिन तथा कारोबार गर्दा अनिवार्य बिल जारी गर्न व्यवसायीलाई निर्देशन दिएको छ।
चाडपर्वको मौका छोपी हुने कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत हरि बुर्जा मगरले जानकारी दिनु भयो।उक्त संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाम नगरपालिका, स्वास्थ्य कार्यालय, पशुसेवा कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।









