दमक, २३ असोज । इजरायलमा केयरगिभरका रूपमा काम गर्न जान चाहनेहरूका लागि झापाको दमकमा सीप परीक्षण केन्द्र सञ्चालनमा आएको छ। झापा पोलिटेक्निक कलेजले सीप सिक्ने र परीक्षण गराउने सुविधा दमकमै उपलब्ध गराएपछि यसअघि परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। कलेजका सञ्चालक मोती बरालका अनुसार आगामी असोज २९ र ३० गते इजरायल जान इच्छुक २६ जनाको सीप परीक्षण गरिनेछ। त्यसका लागि आवश्यक संरचना तथा स्रोतसाधनको व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो।
इजरायलमा १२ वर्ष काम गरेर छ वर्षअघि नेपाल फर्कनुभएकी सुनिता थापाले सीप र कामप्रतिको लगाव भए इजरायलमा रोजगारीका प्रशस्त अवसर रहेको बताउनुभयो। उहाँका अनुसार त्यहाँ काम गर्न जानुअघि सम्बन्धित सीप सिक्नु अत्यन्तै महत्त्वपूर्ण छ। सीपमा दक्ष भएर कामप्रति जिम्मेवार बन्न सके राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ। त्यस्तै, इजरायलमा सात वर्ष काम गरेर फर्कनुभएका रितुराज ढकालले पनि केयरगिभर अर्थात् हेरचाहसम्बन्धी काममा अवसर प्रशस्त रहेको अनुभव सुनाउनुभयो। कामप्रति इमानदार र व्यवहारमा मिजासिलो हुन सके नयाँ अवसर प्राप्त गर्न सहज हुने उहाँको भनाइ छ।
यसअघि इजरायल जान चाहनेहरूले आफूले सिकेको सीप परीक्षण गराउन दमकबाहिर जानुपर्ने अवस्था थियो। तर, यस वर्ष झापा पोलिटेक्निक कलेजले सीप सिकाउने तथा परीक्षण गराउने अनुमति पाएपछि स्थानीयस्तरमै यो सुविधा उपलब्ध भएको हो। कलेजमा हाल इजरायल जान इच्छुक एक सयभन्दा बढी व्यक्तिले केयरगिभरसम्बन्धी सीप सिकिरहेका छन्। तीमध्ये २६ जनाको आगामी असोज २९ र ३० गते सीप परीक्षण हुने कलेजले जनाएको छ।
दमकमै सीप सिक्ने र परीक्षण गराउने सुविधा उपलब्ध भएपछि इजरायलमा केयरगिभरका रूपमा काम गर्न चाहनेहरूलाई समय र खर्च बचत हुनुका साथै आवश्यक सीप हासिल गरेर वैदेशिक रोजगारीमा जाने तयारी गर्न सहज हुने अपेक्षा गरिएको छ।







