दमक, १७ कात्तिक । ‘चार महिना भइसक्यो, मेरो पासपोर्ट अझै आएन। कहिले आउँछ होला ?’ सामाजिक सञ्जालमा जय रज्जले गरेको यो प्रश्न राहदानी कुरिरहेका धेरै सेवाग्राहीको साझा पीडा हो।
त्यस्तै, आरके जेमिनीले दुई महिना, सन्दीप थातालले तीन महिना र मोहित गौतमले पनि चार महिना बितिसक्दा राहदानी नपाएको भन्दै गुनासो गरेका छन्। कसैले दुई महिना कुर्दा पनि राहदानी नपाएको बताएका छन् भने कसैले एक वर्ष नै कुर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
सेवाग्राहीका यस्ता गुनासा सार्वजनिक भएपछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले त्यसलाई सामान्य टिप्पणीका रूपमा मात्रै लिएनन्। बरु सेवाप्रवाहमा कहाँ समस्या छ भन्ने पहिचान गर्न कार्यदल नै गठन गरेका छन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने तथा बायोमेट्रिक विवरण दिने प्रक्रियामा हुने लामो प्रतीक्षालाई अन्त्य गर्दै एकै दिन दुवै सेवा उपलब्ध गराउने ‘डे–वान’ मोडेल लागू गरिसकेको छ।










