रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या झेलेको वर्षौं भइसक्यो । राजनीतिक नेतृत्व फेरियो, सांसद र मन्त्री फेरिए, नगरपालिकामा दुईपटक नेतृत्व परिवर्तन भयो, तर प्रहरी कार्यालयको भवन, जग्गा र स्तरोन्नतिको समस्या भने जहाँको त्यहीँ छ । यो प्रहरी कार्यालय अहिले पनि ‘ग’ श्रेणीमै सीमित छ । प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा रहेको यो कार्यालयसँग न आफ्नै नाममा पर्याप्त जग्गा छ, न त सुविधासम्पन्न भवन । यो कार्यालयलाई आपराधिक कार्यको मुद्दा दर्ता गर्ने अधिकार पनि छैन । सामान्य ठाडो उजुरीबाहेक कानुनी प्रक्रिया अघि बढाउन स्थानीयले इलाका प्रहरी कार्यालय गरुडा वा जिल्ला प्रहरी कार्यालय गौर धाउनुपर्ने बाध्यता छ । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो क्षेत्रमा रहेको यही प्रहरी कार्यालयलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) तहसम्मको नेतृत्वमा पुर्याउने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । यद्यपि अवस्था सुधार आउन सकेन । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रौतहट क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका प्रभु साह ठुलो मतान्तरसहित निर्वाचित भएका थिए । विकासप्रेमी नेताका रूपमा परिचित साहलाई त्यसबेला क्षेत्रका मतदाता र बुद्धिजीवीले समेत खुलेर समर्थन गरेका थिए । निर्वाचित भएको करिब एक महिनापछि पहिलोपटक कटहरिया आउँदा स्थानीय कार्यकर्ता तथा व्यापारी योगेन्द्र साहको घरमा उनको सम्मानमा भोज आयोजना गरिएको थियो । सोही अवसरमा स्थानीयसँगको कुराकानीमा साहले कटहरियाको प्रहरी कार्यालयको अवस्थाबारे चासो व्यक्त गर्दै प्रतिबद्धता जनाएका थिए । उनले भनेका थिए, ‘चिन्ता नलिनुस्, म इलाका प्रहरी कार्यालय कटहरियामा डीएसपी बसेको हेर्न चाहन्छु । त्यसका लागि पहल गर्छु ।’
२३ जनाको दरबन्दी, कार्यरत १० जनामात्रै
इलाका प्रहरी कार्यालय कटहरियामा सईको कमाण्डमा २३ जना प्रहरीको दरबन्दी छ, तर हाल १० जनामात्रै कार्यरत रहेको कार्यालय प्रमुख वरिष्ठ सई जय प्रकाश साहले जानकारी दिए । आवश्यक जनशक्ति नहुँदा नियमित गस्ती, बजार सुरक्षा तथा नागरिकको जिउधनको सुरक्षा प्रभावकारी बनाउन कठिनाइ भइरहेको उनको भनाइ छ । कार्यालयको कार्यक्षेत्र कटहरिया नगरपालिकाका ५ वडा २ वडा मातहत ठुलो क्षेत्र छ, तर सीमित जनशक्ति र पुरानो भौतिक संरचनाका कारण प्रहरीलाई सेवा प्रवाहमा चुनौती थपिएको छ ।कटहरिया–५ का समाजसेवी दिनानाथ साहका अनुसार सामान्य विवादबाहेक मुद्दा दर्ता वा कानुनी प्रक्रिया अघि बढाउन पनि गरुडा अथवा गौर पुग्नुपर्ने अवस्था छ । ‘सानो कामका लागि पनि टाढा जानुपर्छ । ठुलो विवादको पञ्चायती गर्नुपर्दा समेत गरुडा वा गौर पुग्नुपर्ने बाध्यता छ । यसले सर्वसाधारणको समय र पैसा दुवै खर्च भइरहेको छ,’ उनले भने ।
जग्गा विवाद नै भवन निर्माणको मुख्य बाधक
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार इलाका प्रहरी कार्यालय कटहरियाको नाममा जग्गा दर्ता नभएकै कारण भवन निर्माण तथा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो । स्थानीय तह वा अन्य कुनै निकायको पहलमा प्रहरी कार्यालयको नाममा जग्गा दर्ता गराउन सके सरकारले भवन निर्माणका लागि बजेट उपलब्ध गराउने र कार्यालयको स्तरोन्नतिको बाटो खुल्ने उनले बताए ।इलाका प्रहरी कार्यालय कटहरियाले हाल ओगटेको १७ कठ्ठा जग्गामध्ये आठ कठ्ठामा प्रहरी कार्यालयको मोही हक कायम छ भने बाँकी नौ कठ्ठाको जग्गाधनी स्थानीय सन्तलाल साह छन् । जग्गाको स्वामित्व र दर्तासम्बन्धी समस्या समाधान नहुँदा सरकारी लगानीमा नयाँ भवन निर्माण हुन सकेको छैन । सात दशकभन्दा लामो इतिहास बोकेको प्रहरी कार्यालय आज पनि पुरानै भौतिक संरचनामा सञ्चालन भइरहेको छ ।










