काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।विशेषगरी उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री तथा कोषाध्यक्ष लगायतको पदमा धेरैले आकांक्षा देखाएका छन् । महामन्त्री पदमा भने युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।नेविसंघको केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकनु भएको शाहीले महामन्त्रीमा उम्मेदवारी दिने बताँउनु भयो ।‘म निरन्तर रुपमा पार्टीमा सक्रिय छु । कांग्रेसको तर्फबाट कालिकोटमा २०७० सालमा संविधानसभा सदस्यको उम्मेदवार र २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुका साथै अघिल्लो १४ औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापतिको प्रत्यासी बनेको थिएँ । संगठनको काममा सँधै खटिरहें र केही न केही नौलो अभियान चलाइरहें । त्यसैले महामन्त्री पदमा योग्य छु जस्तो लाग्यो,’ शाहीले नेपाल न्यूज बैंकसँग भन्नु भयो ।
पार्टीका विभिन्न अभियान, कार्यक्रम, गाउँ अभियान र जिल्ला दौडाहा गरिरहने शाहीले जेनजी विद्रोहका बेला देशभर भएको आगजनी र तोडफोडको कडा रुपमा बिरोध गर्नु भएको थियो।त्यस्तै, अवैधानिक र एकपक्षीय रुपमा गरिने विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर र विभाजित बनाउँछ भनेर गगन थापासँग फरक मत राख्नु भएको शाहीले एकताबद्ध भएर नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आँउनु भएको छ।‘विशेष महाधिवेशनको नाममा विभिन्न प्रलोभन र प्रभावमा परेर षड्यन्त्रपुर्वक निर्वाचन आयोगमार्फत पार्टी कब्जा गरियो । नियमित महाधिवेशनको लागि दुई महिनासम्म पनि पर्खिने धैर्यता नराखेर गगन थापाले कांग्रेसलाई छिन्नभिन्न, क्षतविक्षत बनाउन र कमजोर पारेर ठुलो भुल गर्नुभयो । अब नियमित महाधिवेशनमार्फत पार्टीलाई चलायमान बनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ उहाँले भन्नु भयो ।
पार्टीमा सबैलाई न्याय र समान अवसर हुनुपर्ने, संगठन सिस्टममा चल्नुपर्ने, अवसरवादी राजनीति अन्त्य हुनुपर्ने, सत्ता केन्द्रीत नभई जनता केन्द्रीत पार्टी बनाउन पर्ने, पैसा र शक्तिको भरमा नभई नैतिक मुल्य र मान्यताको आधारमा विचार सिद्धान्तको राजनीति हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो रहेको पनि उहाँले बताँउनु भयो । ‘पार्टी अब सुस्त लय, गतिहिन, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन । अब पार्टी भित्रको गुटबन्दी, भागबण्डा, व्यक्तिगत स्वार्थ, पदीय स्वार्थ, अवसरवाद र चाकडीवादको राजनीति अन्त्य हुनुपर्छ’ उहाँले भन्नु भयो ।शाहीले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले पार्टीले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाई गम्भीर ढङगले बुझ्नुपर्ने औंल्याँउनु भएको छ । देउवा समूहले यही मंसिर २१ देखि २३ मा काठमाडौंमा महाधिवेशन गर्दैछ ।










