दमक/
‘मेरो शरिरमा अहिले हाड र छाला बाहेक केहि छैंन । रोगले च्यापीएर बसेको छु । घरमा श्रमितलाई पनि क्यान्सर लागेर ओछयान लगाएर सुताएको छु । सन्तान कोहि पनि छैनन । काम गर्न नसक्ने भए , मरौ सास जाँदैन , बाँचौ के खाएर बाँच्ने ?
झापाको दमक नगरपालिका वडा नं ७ का पुष्प ढकालले उज्यालो खवरको कार्यालयमा आएर आफ्नो दयनिय अवस्था सुनाउनु भयो ।
दुई वर्ष अघी अर्थात कोरोना महामारी सुरु हुनु पूर्व उहाँ दमक बजारको सडक पेटीमा बसेर नेपाली ढाका टोपी बेच्नु हुन्थ्यो । त्यसैको बिक्रिबाट आएको ४/५ सय रुपैँयाको नाफाले घर व्यवहार चलाई रहनु भएको थियो ।

तर जव कोरोना सुरु भयो , बजार ठप्प बन्द भयो । बचत केहि थीएन । भएको केहि टोपि पनि साहुलाई फर्काएर केहि पैसा ल्याउनु भयो र त्यो बेला बाँच्नु भयो । तर अहिले आफुलाई बिहान बेलुका खाना खानै मुस्किल भएको ढकालले सुनाउनु भयो ।
‘केहि काम गरौ, पहिलाकै जस्तो टोपि बेचौ न त भन्यो शरिर रोगी भयो गर्नै नसक्ने भइयो , श्रीमतीलाई काम गराउँ न त भन्यो तर उ झन सुस्त मनस्थिती र स्तन क्यान्सरले घरकै ओछ्यानमा थलीएकी छिन । मलाई त बाँच्नै गाह्रो भयो ।’ ढकाल भन्नु हुन्छ ‘ मरौ न त भन्यो सास जाँदैन, बाँचौ अव के खाएर बाँचौ ’ । जीन्दगी कटाउन समस्या परेको बताउँदै ढकालले अहिले सम्म छर छिमेकी , आफन्त र केहि दाताले दिएको अन्न खाँदै बाँचेको सुनाउनु भयो ।
‘अघील्लो पटक दमक नगरपालिकामा रोम नाथ ओली हुँदा बेला बेला कोहि कोहिलाई सहयोगको सिफारिस बनाइदिने, आफैपनि सकेको सहयोग गर्ने गर्नु भएको थियो । तर अहिले नगरपालिकामा जादा तपाई जस्ता कति आउँछन् यसरी दिएर कहाँ साध्ये हुन्छ र भनेर फर्काउनु हुन्छ । अव म कहाँ गएर कसरी बच्नु ?’
घरमा नुन तेल र चामल किन्नै धौ धौ परिरहेको यो परिवारले पर्याप्त औषधि पनि खान पाएको छैन । जसले गर्दा रोगले थप च्यापीरहेको छ । ‘कयौ दिन पेटमा पटुका बाँधेर भोकै हिडेको छु । बाटेमा कहाँ लडेर मर्छु होला जस्तो लाग्छ ।’ ढकालले गहभरी आँशु पार्दै भन्नु भयो
केपि ओली देखी राजेन्द्र लिङदेन सम्मलाई सहयोगको याचना
ढकालले आफुलाई परेको समस्या कहाँ मात्रै राख्नु भएन र । स्थानिय वडा सरकार, पालिका सरकार र दमकका रहेको विभिन्न सामाजीक , सस्था, व्यक्ति सम्म नै उहाँ भोक टारिदिन अपील गर्दै भौतारिरहनु भयो । त्यसै अनुरुप उहाँले केहि सहयोग पनि पाउनु भयो । सहयोग पाएपछि केहि समय घरमा अन्न हुन्छ । तर मागेर ल्याएको त्यो चामल जव सकिदै जान्छ तव फेरि उहाँमा चीन्ता बढ्दै जान्छ । अव कसरी खाने र बाँच्ने ।
‘मलाई कम्तिमा यसरी पटक पटक माग्दै र हात थाप्दै हिडेर खोने भन्दा पनि बिहान बेलुकाको छाक टारिदिने प्रबन्ध गरिदिनु पर्यो । सरकारले भोकै कोहि पनी मर्दैन भन्ने कार्यक्रम ल्याएको सुनेको छु । तर म त यहाँ खानै नपाएर मर्न लागे अव म कुन सरकार कहाँ बाँच्ने आधार दे सरकार भन्दै जाउँ ?’
ढकालले आफ्नो यो अवस्था र पीडा यो क्षेत्रका सांसद तथा पूर्व प्रधानमन्त्री समेत रहनु भएका केपि शर्मा ओलीलाई पनि जानकारी गराएको बताउनु भयो । ‘केपि ओली दमक आउनु भएको बेलामा पटक पटक लिखित पत्र नै दिएर मैले मलाई बचाइदिनुहोस भन्दै आग्रह गरे । तर सुनुवाई भएन । अहिले सम्म मैले उहाँ मार्फत केहि पनि पाईन । सरकारमा उहाँ हुँदानै भोकै कोहि पनि मर्नु पर्दैन भन्नु भएको सुनेको थीए तर अहिले म भोकै मर्न लागेको छु । मलाई कस्ले बाचाइदिने ? ढकालले प्रश्न गर्नु भयो ।

अव उहाँले यो क्षेत्रका प्रदेश सांसद होम बहादुर थापा र यहि क्षेत्रको तल्लो भेगका प्रदेश सांसद हिकमत कुमार कार्कीलाई पनि पत्र पठाउने तयारी गर्नु भएको छ । आफ्नो दयनिय अवस्थाको अवगत गराउन उहाँले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि पत्र तयार पार्नु भएको छ ।
‘कहि न कहिबाट मलाई बचाइदिने पक्कै निस्कनु होला । हाम्रा नेताहरुले आफ्ना जनतालाई भोकै मरेको त पक्कै देख्न चाहनु हुन्न । ’ सबै नेता तथा सांसदहरुलाई आफ्नाबारेमा जानकारी गराउँदा गराउँदै पनि मैले भोकै मर्नु पर्यो भने यहाँ सरकार छ र गरिव तथा विपन्नकालगि पनी गर्ने रहेछ भनेर पत्याउन सकिएला त ? ढकालको अन्तिम प्रश्न छ ।









