दमक, मंसिर २३
नेपालकै अग्लो टावरका रुपमा निर्माण भएको झापाको दमक ३ स्थित ‘दमक बिजनेस कम्प्लेक्स’को उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्र्मा ओली भर्खरै कार्यक्रमस्थल प्रवेश गर्नुभएको छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको कुल १ सय मिटरको १८ तले टावर आकारको भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जसले स्थानीयमा उत्साह ल्याउने भएको देखिन्छ ।
सहरी विकास मन्त्रालयले टावरस्थलमा शनिबार पत्रकार सम्मेलन गर्दै यसको सञ्चालनका लागि कम्पनीहरुलाई आव्हान गर्ने तथा केही प्रवेश शुल्क समेत राखेर त्यसको व्यवस्थापन गरिने जानकारी गराएकोे छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले टावर उद्घाटपछि व्यापारिक प्रयोजनको हिसाबले समेत कम्पनीहरुले यसको व्यवसायिक सञ्चालनकालागि साञ्चालनको जिम्मा लिनसक्ने उल्लेख गर्नुभयो ।
प्रधामन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो टावर प्रधानमन्त्री ओलीकै पहलमा गौरबको आयोजनाका रुपमा रहेको छ । पूर्वको फरक आकर्षकस्थलका रुपमा लिइएको टावरलाई यसबेला आकर्षकरुपले सजाउने काम भएको छ । टावरकोे वरिपरी पानीका फोहोरा, आकर्षक बत्तीसहितको मनोरमस्थल तयार छ ।
यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।









