३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक, डीएम÷एमसीएच र एनबीएमएस (सबस्पेसियालिटी) तहका सिट निर्धारण गरेको हो।प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा आयोगको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाको सिट बढाउने निर्णय गरेको छ ।बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको तुलनामा समग्रमा सिट संख्या बढेको छ । तर कुन विषय र तहमा कति सिट थपिएको हो भन्ने विस्तृत विवरण बैठकमा प्रस्तुत नगरिएको उहाले बताउनुभयो ।
‘राष्ट्रिय स्तरमा सिट संख्या बढेको विवरण प्रस्तुत भएको थियो । तर कुन तहमा कति सिट बढेको हो भन्ने विस्तृत विवरण हेर्न पाइएको छैन,’ ती सदस्यले भन्नुभयो । आयोगले सिट निर्धारण गर्दा सम्बन्धित मापदण्डअनुसार गरिएको जानकारी गराएको भए पनि विषयगत तथा संस्थागत रूपमा सिटको विवरण स्पष्ट नभएको उहाको भनाइ छ ।बैठकमा एमबीबीएस र बीडीएसका इन्टर्नको निर्वाह भत्तासम्बन्धी विषयमा पनि छलफल भएको छ । यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयसँग भएको सम्झौतासम्बन्धी कार्यसूचीमा आयोगकै मातहतमा कार्यदल गठन गर्ने निर्णय भएको बैठकमा सहभागी सदस्यले बताउनुभयो ।कार्यदल गठन गर्ने निर्णय भए पनि इन्टर्नको निर्वाह भत्ताबारे ठोस निर्णय भने भइनसकेको उहाले जानकारी दिनुभयो । कार्यदल गठनको प्रक्रिया आयोगको कार्यकारी समितिमार्फत अघि बढ्ने सम्भावना रहेको उहाको भनाइ छ ।आयोगको सदस्य सचिव हरि निरौलाले सरकारी संस्थामा केही सिट बढेको बताउनुभयो। ‘धेरै बढेको छैन । विगतको तुलनामा यस वर्ष सरकारी संस्थामा सिट बढेको छ,’ निरौलाले भन्नुभयो, ‘ विभिन्न कार्यक्रममा सिट नै हेरफेर गरिएको छ ।’









