दमक, पुस १
फोहोर समस्या होइन, समाधानको उपाय लिएर आउँछु, मैले उत्पादन गरेको फोहोर म आफैं व्यवस्थापन गर्छु र आफ्नो घरआँगन आफैं सफा राख्छु भन्ने तीनबुँदे प्रतिवद्धता जाहेर भयो । आफ्नो ठाउँ आफूले सफा राख्ने विषयमा दमक ५ का बासिन्दाले यसखाले प्रतिवद्धता जनाएका हुन् ।
दमक नगर क्षेत्रको फोहोर व्यवस्थापन चुनौति बनिरहेको अवस्थामा नगरको वातावरण समितिले वडावासीहरुसँग छलफल गर्दै प्रत्येक वडामा यो ३ बुँदे प्रतिवद्धता गराउने क्रम अघि बढाएको छ ।
दमक ५ मा रहेका टोल विकास समितिसँग अन्तरक्रिया गर्दै नगरको वातावरण समितिका संयोजक एवम् ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले आफ्नो ठाउँ आफैंले सफा राख्ने प्रतिवद्धता कार्यान्वयन गराउन जोड दिनुभयो । ‘जलवायु परिवर्तन तथा ठोस फोहोर व्यवस्थापन सम्बन्धि अभिमुखीकरण’ नाम दिइएको सो कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाको फोहोर बोक्ने गाडी आउनु अघि कुहिने र नकुहिने फोहोर छुट्याएर सुरक्षित रुपमा राख्ने र फोहोर व्यवस्थापनमा मनैदेखि सघाउन आवश्यक रहेको धारणा अघि सार्नुभयो ।
सो क्रममा टोल विकास संस्थाका प्रतिनिधि सहभागि एन्जल भण्डारी उप्रेती, देवी बास्तोला, पुष्पलाल सापकोटा, बलिप्रसाद गिरीलगायतले फोहोर संकलन गर्ने डष्टबिन आवश्यक रहेको, प्लाष्टिकजन्य बस्तुको प्रयोग रोक्नुपर्ने तथा फोहोरमैला व्यवस्थापनको अनुगमन सहितका विषय उठाएका छन् ।
कार्यक्रममा वातावरण समिति संयोजक एवम् ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले वडा वडामा टोेल विकास संस्थाको सिफारिसमा टोल विकासले आधा रकम व्यहोर्ने गरी आवश्यक ठाउँहरुमा फोहोर संकलन गर्ने डष्टबिन वितरण गरिने योजना समेत सुनाउनु भयो ।
कार्यक्रममा बोेल्दै दमकको फोहोर व्यवस्थापनको जिम्मा लिएको नेक्स्ट इरा एनर्जी प्रालिका प्रवन्धक विमल खतिवडाले आफूहरुले फोहोर व्यवस्थापनमा कोशिस गरिरहेको अवस्थामा नगरवासीले पनि आफ्नो नगर सफा राख्नका लागि उत्तिकै जिम्मेबारी बहन गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले आफ्नो संस्थाले १२ वटा गाडी र ७० जना कर्मचारी फोहोर व्यवस्थापनमा खटिएको उल्लेख गर्नुभयो ।
दमक ५ नम्बर वडाध्यक्ष इन्द्रबहादुर गुरुङले नगरको अभियानमा आफ्नो ठाउँलाई सफागर्न वडावासी नै सक्रिय बन्नुपर्ने भन्दै वडाले फोहोरमैला व्यवस्थापनमा गरेका प्रयासहरु उल्लेख गर्नुभयो । उहाँले यसअघि डष्टबिन र गमला वितरण गरिएपनि स्थानीयले सुरक्षा नगर्दा समस्या भएको पनि जनाउनु भयो ।
अभिमुखीकरणमा पथरी शनिश्चरे मोेरङकी मञ्जरी घिमिरेले सहजीकरण गर्नुभएको थियो । ठोस फोहोर व्यवस्थापनका विषयमा नगरपालिकाले विभिन्न क्षेत्रसँग सम्बन्धित अगुवाहरुसँग समेत अन्तरक्रिया गरेको छ ।
दमक नगरपालिका कार्यालयले आफ्नो नगर सफा राख्दै बोट बिरुवा रोपेर हरियाली बनाउनका लागि फोहोरमैला व्यवस्थापन ऐन २०६८ र वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७६ निर्माण गरी सफा र हरित नगरको कार्यक्रम अघि बढाइरहेको छ ।









