भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि खाना बन्द गरेपछि शनिबार बिहान जेन–जी अभियन्ता माजिद अन्सारीको टोली खाना लिएर त्यहाँ पुगेको थियो। तर, स्थानीय प्रशासनले सेन्टरभित्र खाना लैजान रोक लगाएपछि आश्रित परिवार सडक किनारमै बसेर खाना खान बाध्य भएका हुन्।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न लिखित निर्देशन दिएको थियो। प्रशासनले भूमिहीन ठहरिएका १२ परिवारलाई तत्कालका लागि एक महिनाको घरभाडाबापत १५ हजार र पुनर्वासका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताउनुभयो।तर, विस्थापित १९ परिवारका छपन्न सदस्यले रकमले मात्र दीर्घकालीन समाधान नहुने भन्दै वैकल्पिक आवास सुनिश्चित नभएसम्म सेन्टर नछाड्ने अडान लिएका छन्। सात महिनाअघि काठमाडौँ उपत्यकाका नदीकिनारबाट हटाइएका विस्थापितहरू उचित पुनर्वास, स्वास्थ्य र खानाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन्।










