दमक, पुस १०
दक्षिणी इलामको चुलाचुली गाउँपालिका २ अर्नाखाडीका ८० वर्षीय दिलबहादुर मावोको अहिले न खानको टुंगो छ, न बस्नकै । आफूसँग भएको जायजेथा समेत हडपिनु मात्र होइन त्यो उमेरमा सहारा दिने समेत नभएपछि कस्ले कहाँ सहारा दिन्छन्, त्यसकै आसमा बस्नुपर्ने अवस्था भयो ।
विवाह भएर गएकी छोरी जशोदाले दिलबहादुरको ११ कठ्ठा ८ धुर जग्गामध्ये ५ कठ्ठा १४ धुर जग्गा जालसाँझ गरेर हडपेको र बाँकी रहेको जग्गामा समेत अलग बस्दै आएकी श्रीमती जालकुमारी मावोले अंश मुद्धा हालेपछि थला परेका दिलबहादुरको बिजोक अवस्थाको श्रृंखला झन बढ्यो । उहाँको कान नसुन्ने र बोल्न पनि नसक्ने अवस्था छ । घर मक्किएर बस्ने अवस्था छैन । अरुको सहारामा डोहोरिएर मुस्किलले पाइला सार्ने दिलबहादुरलाई के खाने र कस्को सहारामा बाँच्ने भन्ने समस्याले बिजोक अवस्था छ । त्यो अवस्थामा छोरी जशोदाले सुनको औंठी दिए झैं गरेर पित्तलको औंठी दिएर आस्वस्त पार्दै ४ लाख ७० हजार रुपैयाँ दिने र घर पनि बनाइदिने नाममा जालसाँझ गरेर जग्गा हडपेको मावो समाजका अगुवाहरुमार्फत आज दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । त्यसक्रममा मावो समाजका केन्द्रीय कोषाध्यक्ष लाखबहादुर मावोले भन्नुभयो ‘छोरीले जग्गा घडपेको छ । घर बस्ने अवस्थाकै छैन । खान र स्याहार को को आफन्तबाट पालैपालो भइराको छ । यस्तो अवस्थाको मान्छेको जग्गा तुरुन्त फिर्ता हुनुपर्छ ।’
दिलबहादुरको बिजोक अवस्था देखेर मावो बन्धुहरुले कहिले कस्को त कहिले कस्को घरमा लगेर खान दिने र हेरचार गर्ने गर्दै आएका छन् । भतिज पूर्णबहादुरले यसअघि उपचार गराएर सहयोग पुर्याउनु भयो । उहाँकै अगुवाईमा पत्रकार सम्मेलन पनि गराइयो । यसक्रममा यतिबेला दिलबहादुर झापाको कमलस्थित केर्खाका नगेन्द्र मावोको घरमा हुनुहुन्छ । उहाँलाई आफ्नो के समस्या हो भनेर सञ्चारकर्मीले सोध्दा बोल्न समेत सक्ने अवस्था रहेन र उहाँको सहाराका रुपमा नजिक बस्नु भएका लाखबहादुर मावोले यथार्थ कुरा दर्शाउनु पर्यो ।
उहाँको सर्वस्व सहाराका रुपमा रहेका एक छोरा हर्कबहादुरको समेत दुर्घटनामा निधन भएपछि बिजोग अवस्था भित्रिदै गयो । हर्ककी श्रीमती विदेशमा दुःखजिलोे गर्दै गरेको अवस्था छ । दुई नातिनीहरु समेत अलपत्र अवस्थामा पुगे । हजुरबुबाको बिजोक र परिवार नै तहसनहस भएपछि जेठी नातिनी पूर्णिमा मावोले हजुरआमाको मुद्धाको प्रतिवादमा हडपेको जग्गा फिर्ताका लागि मुद्धा दायर गरेको अवस्था छ ।
७० वर्ष कटेका ज्येष्ठको नामको जग्गा बेच्न कानुनले सहजता प्रदान नगरेको अवस्थामा झुक्याएर जग्गा बेच्नु ज्येष्ठ नागरिकमाथि ठूलो अन्याय भएको झापाका अभिवक्ता नरबहादुर लिङ्देनको समेत ठहर छ । त्यो अवस्था बुझेर लिङ्देनले दिलबहादुरको पक्षमा वकालतको जिम्मा लिनु भएको छ ।









