पथरी, पुस १२
देश विदेशमा रहनेहरुको आर्थिक सहयोगमा मोरङको पथरी शनिश्चरे वडा नम्बर १ स्थित सुनाखरी माध्यमिक विद्यालयद्वारा जाडोबाट बच्न न्यानो कपडा वितरण गरेको छ ।
शुक्रबार दिउँसो विद्यालयको प्राङ्गणमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण भएको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा १६० जना विद्यार्थीलाई जाडोमा लगाउने ऊनीको स्वीटर, टोपी, ट्राउजर, मोजाकासाथै बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा देश विदेशमा रहनुभएका नेपाली सहयोगी मनहरूले आर्थिक सहयोग प्रदान गरेको विद्यालयकी प्रधानाध्यापक भूमिकादेवी मगरले बताउनुभयो । सो अवसरमा दाताका तर्फबाट ईश्वर मास्केका साथै त्यहाँका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
न्यानो कपडा वितरणका लागि हाल अमेरिका बस्दै आउनु भएका मेनुका –विनोद राई, युवराज राई , रियान विक, धन लिम्बु, कृष्ण तामाङ, सुशिला सम्बाहाम्फे, वडा नम्बर १ का मनोज अग्रवाल, जीवन चेम्जोङ, लगायतले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।









