दमक, पुस २१
कतिपयले सरकारी निकायले तालिम ल्याएछ यसो गएर समय कटनी गरौं भन्ने हिसावले विभिन्न तालिम लिने समेत देखिएको छ । यस्तो अवस्थामा साँच्चै सीपमूलक जनशक्ती उत्पादनको लक्ष्यमा असर पारिरहेको हुन्छ । यस कुरालाई दृष्टिगत गरी दमक नगरपालिकाको ६ नम्बर वडा कार्यालयले तालिमको उपयोग नगर्नेहरुबाट तालिमको लागत रकम फिर्तागर्ने कबुलियत गराएर तालिम दिलाउन थालेको छ ।
महिलाहरुको सीप विकास र प्रवद्र्धनमा जोड दिँदै कार्यक्रम सञ्चालन गर्दै आइरहेको अवस्थामा साँच्चैको सीप विकासमा जोड दिन पछिल्ला दुई तालिमका सहभागिसँग त्यसखाले कबुलियत गरेर तालिम थालिएको ६ नम्बर वडाध्यक्ष टेकबहादुर थापाले जनाउनु भयो । ३ महिने आधारभूत सिकाई कटाई तालिमसँगै महिलाकालागि समेत प्रोत्साहित गर्न १ महिने हार्मोनिय र मादल वादन तालिमको एकै कार्यक्रमबीच आइतबार उद्घाटनका क्रममा वडाध्यक्ष थापाले सहभागिलाई त्यस्तो कबुलियतनामा गराएर तालिम अघि बढाइएको जानकारी गराउनु भएको हो । वडाअध्यक्ष थापाले स्वनिर्भरताका लागि महिला समुदायलाई विशेष आव्हान गर्नुभयो ।
कार्यक्रममा सिलाई कटाई तालिम प्रशिक्षक सरस्वती भट्टराई र वाद्यवादन तालिम प्रशिक्षक चन्द्रा गड्तौलाले पनि तालिमलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।
वडाको सीप विकास कार्यक्रम अन्तर्गत महिला लक्षिततर्फको सिलाई कटाई र वाद्यवादनका लागि १/ १ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको वडा सचिव प्रकाश घिमिरेले जानकारी गराउनु भयो । सिलाई कटाईमा १० जना र वाद्यवादनमा १५ जनाको सहभागिता रहेको छ ।










