धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार रहँदै आँउनु भएको लामिछानेलाई सिआइवीको टोलीले पक्राउ गरेको हो । यसबारे गृहमन्त्री सुदन गुरूङले पनि पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ।
उहाँले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको उल्लेख गर्नु भएको छ । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको उहाँले बताँउनु भएको छ ।
उहाँले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने दाबी गर्नु भएको छ।बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले धरान सहित देशभरका चार हजार ७७२ जना भन्दा बढीको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । आरोपपछि लामिछानेले फरार रहँदै आँउनु भएको थियो । सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटे लगायतका व्यक्ति भने अझै फरार हुनुन्छ।










