दैलेख, फागुन ५
बालबालिकालाई सानैदेखि निगरानी राखिएन भनें चोरीसहितका कुलतमा लाग्नसक्ने मात्र होइन त्यही निहुँमा ज्यान जान सक्ने त्रास बढ्दो छ । दैलेखमा अहिले त्यस्तै घटना भएको छ ।
दैलेखको दुल्लु नगरपालिकामा ३ बालकबीच चोरीका सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ । सो घटनामा १४ वर्षीय र १७ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनु भयो ।
दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएको अवस्थामा शव फेला परेको सुनारले जनाउनु भयो । ती बालक माघ २५ गते दिउँसोदेखि हराएका थिए ।
नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा आफूहरूले चोरी गरेर सुनको तिलहरी बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेको स्वीकार गरेका छन् । यस घटनाले अभिभावकहरुलाई आफ्ना सन्तानको निगरानीमा थप जिम्मेबार बन्न सन्देश दिएको छ ।









