दमक, फागुन ७
विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरु भेनिस, बुसान र टालिन ब्लाक नाइट््समा प्रभाव जमाइसकेको नेपाली कथानक चलचित्र ‘राजागंज’ चैत १ बाट नेपालमा प्रदर्शनमा आउने भएको छ । यसको अग्रिम प्रचार प्रसारमा मुख्य कलाकार आशा मगराती, कोअर्डिनेटर सन्देश घिमिरे, विकास बुढाथोकीसहितको टोली यो बेला झापा, मोरङ र सुनसरीमा कलाप्रेमी र पत्रकारहरसँग भेटघाटमा व्यस्त रहेको छ ।
झापाको दमकस्थित कदम थिएटरमा छोटो अन्तरसंवाद भएको छ । झापाको बिर्तामोड, मोरङको बेलबारी, सुनसरीको इटहरीसहितमा चलचित्रका बारेमा भेटघाटको क्रम अघि बढाएको छ । सो क्रममा आशाले भन्नु भएको छ ‘भारतीय चर्चित निर्माता अनुरागको समेत निर्माण सहयात्रामा आर्ट र व्यवसायिक हिसाबले पनि अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धाको चलचित्र बनेको छ । यो नेपाली चलचित्रकैलागि खुसीको कुरा हो ।’
अन्तराष्ट्रिय हिसाबले यो चलचित्र ‘पूजा सर’का नामले प्रदर्शनमा आउने भएको छ । यसका मुख्य निर्माताहरुमा जारी, कबड््डीजस्ता ब्लकबस्टर चलचित्र निर्माण गरिसकेका निर्देशक रामबाबु गुरुङका साथमा चर्चित अभिनेता दयाहाङ राई र भारतीय प्रसिद्ध निर्माता अनुराग कश्यप रहनु भएको छ ।
आपराधिक सञ्जाललाई चिर्न एक साहसिक महिलाको कथामा बनेको कलात्मकसँगै व्यवसायिक हिसाबको सो चलचित्रमा मधेसको कथा, व्यथा र आन्दोलनको प्रमुख विषयवस्तु केन्द्रित छ । मुख्य पात्रका रुपमा रहेकी इन्सपेक्टर पूजा थापाको भूमिकामा आशा मगरातीको अभिनय छ । चलचित्रमा आशाकासाथै दयाहाङ राई, विजय बराल, नितिका चाण्डक, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, घनश्याम मिश्रा, परमेश्वर झा, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री झालगायतको अभिनय रहेको छ ।
हाइवे, सेतो सूर्य, सिंगापुरे, पाल्म स्प्रिङ जस्ता अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा चर्चामा रहेर अवार्ड जितेका चलचित्रका निर्देशक दीपक रौनियारले ‘राजागंज’ को लेखन र निर्देशन गर्नुभएको छ ।









