मोरङस्थित नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका कमिटीले चैत २७ गते आफ्नो दोस्रो अधिवेशन आयोजना गरेको विषयले मलाई निकै खुशी लागेको छ । राजनीतिक वैचारिक उत्कर्ष र निष्कर्षका आधारमा चल्ने कम्युनिष्ट पार्टी, पार्टी संगठन र आन्दोलनले यस्ता महत्वपूर्ण दिनहरू सम्झनुको ठूलो, भिन्न र अभिन्न अर्थ हुन्छ ।
गणितीय हिसावले हेर्दा चैत २७ गते जन्मनु, २७ वर्षको उमेरमा पञ्चायती जल्लादका हातबाट चैत २७ गते नै सहादत प्राप्त गर्नु संयोग मात्र होइन, सहिद रत्नकुमार बान्तवाको अद्वितीय र बहुगुणसम्पन्न जीवनी आजको नेपाली कम्युनिष्ट आन्दोलनको निर्माणको क्षेत्रमा उत्तिकै प्रेरक छ, राजनीतिक बैचारिक ओज र क्रेजले अतुलनीय छ ।
उहाँजस्तो आदरणीय अग्रजको सम्मान र स्मृतिस्वरुप नेकपा (एमाले) पथरी शनिश्चरे नगरपालिका कमिटीले अधिवेशन आयोजना गर्नुलाई राजनीतिक महत्वको काम विशेषले सम्पन्न गर्नमा ध्यान दिनुपर्छ । नीतिगत रूपमा यो मिति चयन गर्ने पार्टी नगर कमिटी, नगर अध्यक्ष कमरेड रमेश दाहाल, पदाधिकारीसहित सम्बद्ध सबैलाई अधिवेशन आयोजनप्रति हार्दिक बधाई तथा अधिवेशनसम्बन्धी सम्पूर्ण तयारीको पूर्णतः सफलताको शुभकामना व्यक्त गर्दछु ।
सानिध्य पाउन सकिएन । तथापि, सहपाठीका रूपमा उहाँसँग सँगसँगै अध्ययन गर्ने कमरेड ईश्वर पोखरेल, सहकार्य गर्ने सहयोद्धाका रूपमा झलनाथ खनाल, देउमाइको किनारमा कृतिका लेखकसमेत रहनुभएका नेता प्रदीप नेपाललगायत अग्रज नेतृत्वबाट उहाँको बारेमा सुनिएको छ, उहाँका बारेमा लेखिएका पुस्तक पढिएको छ । यसलाई आधार मान्दा वीर सहिद रत्नकुमार बान्तवाबाट हामी विभिन्न प्रेरणादायी पक्षहरू सिक्न सक्छौँ । विशेषतः उहाँको औपचारिक अध्ययन, समाजप्रतिको गहिरो बुझाइ, समाज सुधारका उपाय अवलम्बन, वर्गीय समानता, विभेदविरुद्ध क्रान्तिकारी सोंचका सन्दर्भमा मृत्युपछि पनि उहाँलाई ग्रहण गर्न, सिक्न र अनुसरण गर्न सकिन्छ ।
सहिद रत्नकुमार बान्तवा
निरंकुश पञ्चायती राज्यसत्ताविरुद्धको आन्दोलनमा साहदत प्राप्त गर्नुभएका सहिद रत्नकुमार वान्तवा नेपालको वामपन्थी आन्दोलनको एउटा सर्जक, राजनीतिज्ञ हुनुहुन्थ्यो । २००८ साल चैत्र २७ गते इलामको चमैताको चित्रे (हाल देउमाइ नगरपालिका वडा नं.१) मा बुवा गर्जमान र आमा पुष्पमाया राईका कोखबाट हुनुभएका ११ सन्तानमा तीनवटी दिदीपछि जेठो छोराका रूपमा जन्मनुभएका बान्तवाले २०३५ मा सहादत प्राप्त गर्नुभयो । एउटा सामान्य किसान परिवारमा जन्मनुभएका कारण घरपरिवारको मात्र होइन, तीक्ष्ण बुद्धिका कारण समाजको र वर्गीयधारले धारिलो भएका कारण सामाजिक जनजीवनको समेत आशा र भरोसा बटुल्दै गर्दा २७ वर्षको उमेरमै सामाजिक राजनीतिक परिवर्तनका लागि अग्रसरता लिएकै कारण सहादत प्राप्त गर्न पुग्नुभयो । २७ वर्षको उमेर घरपरिवारको विश्वास पात्रमात्र होइन, स्थानीय समाज र सामाजिक राजनीतिक परिवर्तनको आन्दोलनको अगुवाइमार्फत आशा र भरोसाको भरिलो अभिभावक बन्न सक्नु आजको पुस्ताका लागि सिकाइयोग्य पक्ष हो ।
जन्मस्थल चमैतामै प्रारम्भिक चरणको शिक्षा पूरा गर्नुभएका बान्तवाले कक्षा सातपछि आफ्ना मामा गणेश राईको घरमा बसेर नारायणस्थानमा पढ्ने, कक्षा ८ पछि १० सम्म पढ्न पाँचथरको फिदिम हाइस्कुल पुगेर सबैको कुराको जोहो गर्नु बाल्यकालीन चुतरोपनको प्रतिफल थियो । यद्यपि, त्यतिबेला बुबा फिदिममा प्रहरीको जागिरे भएकाले रत्नकुमार पनि बुबासँगै पाँचथर पढ्न पुगेका थिए । २०२८ मा एसएसलीपछि उच्चशिक्षाका लागि धरानमा काका नाता पर्ने तुलराम देवानको घरमा बसेर पढ्नुभयो । यहाँबाट आइए पढुञ्जेलसम्म काका तुलरामका छोरा बम देवानसँग रत्नकुमार वान्तवाको राम्रो मित्रता कायम रह्यो । आइए उत्तीर्ण भएपछि बीएड पढ्न २०३० सालमा राजधानी काठमाण्डौँ जानुभयो । काठमाण्डौँमा बितेका दुई वर्षले कम्युनिष्ट आन्दोलनको रत्न हुने वातावरण बनायो ।
त्रिवि कीर्तिपुरबाट २०३२ सालमा बीएड सकेर गृहजिल्ला इलाम फर्किएका रत्नकुमार इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लगभग ६ महिना अध्यापनपछि यसलाई छाडेर कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको रूपमा राजनीतिमा सक्रिय हुन पुग्नुभयो । उहाँ धरान पढ्दै गर्दा २०२८ ताका झापामा विद्रोह शुरु भएको थियो । यो विद्रोहको गम्भीर छापले प्रभावित रत्न वामपन्थी विचार राख्ने बम देवानको अध्ययन, मनन र कार्य व्यवस्थापनबाट कम्युनिष्ट विद्यार्थी हुनुभयो । बढ्दो कम्युनिष्टमोह काठमाण्डौँ पुगेपछि झाँगियो । २०३० असार १५ गते कीर्तिपुरमा बान्तवाको भेट ईश्वर पोखरेलसँग भयो । वस्तुतः नेता पोखरेल र बान्तवा एउटै कक्षा र एउटै विषय अध्ययन गर्ने सहपाठी हुनुभयो ।
२०३२ सालमा अखिल नेपालको को–अर्डिनेसन केन्द्र इलाम जिल्ला कमिटी गठन भयो । कमिटीको सचिव झलनाथ खनाल र सदस्यहरूमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, भाइ बमप्रसाद बान्तवा र वसन्त पराजुली हुनुहुन्थ्यो । बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँगाउँमा गएर जनतालाई संगठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन पुग्नुभएको पढ्न पाइन्छ ।
वैज्ञानिक र व्यावहारिक ज्ञानमा पोख्त रत्नकुमार बान्तवाले २०३४ सालमा चमैताको आफ्नै घरमा सुरुङ बनाउनुभएको थियो । अग्रज बान्तवाको प्रत्यक्ष निर्देशन र कल्पनामा बनाइएको सुरुङभित्र ६ र ७ जना बसेर छलफल गर्न सक्ने ठाउँ आज पनि देख्न पाइन्छ । सुरुङको एउटा मुख रत्नको घरमा थियो भने अर्को मुख जङ्गलको बीचमा थियो ।
तेस्रो शक्तिको रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको २०३५ पुस ११ गते संस्थापक केन्द्रीय सदस्य चुनिनुभएका रत्नकुमार बान्तवा पूर्व उत्तर क्षेत्रको इञ्चार्ज हुनुहुन्थ्यो । छोटो समयमै इलामबाहेक पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर र संखुवासभामा संगठन निर्माण र बिस्तारमा सफल उहाँ २०३५ साल माघमा सम्पन्न नेकपा (माले) इलाम जिल्ला कमिटी गठन प्रक्रियाबाट यसको सचिव चुनिनुभयो ।
पाँचथरको सुकेपोखरी प्रहरी चौकीबाट २०३५ साल मङ्सिरमा गस्तीमा गएका एक प्रहरीलाई चमैताका किसानले नियन्त्रणमा लिएर कुटपिट गरे । प्रहरीलाई नियन्त्रणमा लिएर किसानले कुटेपछि त्यो विद्रोहको पछाडि रत्नकुमार बान्तवाको हात छ भन्ने कुरा प्रशासनले थाहा पायो । यसपछि चमैता, चित्रे, इभाङमा प्रहरीले व्यापक सर्च अभियान चलाउन थाल्यो ।
२०३५ फागुन २१ गते झापाबाट जेल सरुवाको निहुँमा सुखानी लगेर मारिएका ५ जनाको स्मृति दिवस पारेर इलामभरि व्यापक पर्चा छरियो । यसको प्रत्यक्ष नेतृत्व रत्नकुमार बान्तवाले गरेका थिए । पर्चामा पञ्चायती शासन ढाल्ने, राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यमा आधारित एजेण्डाहरू थिए । कार्यक्रमअनुसार संगठन निर्माणका क्रममा रत्नकुमार बान्तवा इलामको नाम्सालिङ्ग पुगेको कुरा सुराकीबाट थाहा पाएपछि प्रहरीले २०३५ चैत २४ गते नामसालिङ्गका लोकबहादुर लिम्बूको घरमा घेरा हाल्यो । यतिबेला रत्नकुमार बान्तवा, जैमिला राई र डिल्लीप्रसाद राई घेराउमा पर्नुभयो । रातको समयमा प्रहरीको आँखा छलेर चतुर बाठा योजनाकार रत्नकुमार बान्तवा भाग्न सफल हुनुभयो र साथीहरूलाई सहजै पनि भगाउन सक्नुभयो । भगिरथ प्रयत्नका साथ रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङ्गमा रत्नकुमार बान्तवा भन्ने ठानेर स्थानीय गाउँले किसान निमा शेर्पालाई गोली हानेर ढाल्यो । निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो मात्र थियो । अलिपछि यो त रत्नकुमार बान्तवा नभएर अर्कै व्यक्ति मारेको थाहा पाएपछि प्रहरी बान्तवाको थप सक्रियताका साथ खोजीमा निस्कियो ।
इभाङमा रहेको एक किसानको घरबाट २०३५ चैत २७ गते बिहान साढे ४ बजेतिर उठेर रत्नकुमार बान्तवा, सुशीला श्रेष्ठ, अगम बान्तवा र कुसुम राई ताप्लेजुङ्ग हिँड्न लाग्नुभएको थियो । अलिकति अगाडि बढेपछि प्रहरीसँग उनीहरूको जम्काभेट भयो । प्रहरीसँगै आएका सुराकीले औँल्याएपछि अगाडि रहेका बान्तवालाई कायर प्रहरी विष्णु राईले गोली हाने । रत्नकुमार बान्तवाले पहिलो गोली छले र खुकुरी झिकेर प्रहरीमाथि जाइलागे । दोस्रो गोली पनि छलिएर अर्को प्रहरीलाई लाग्नपुग्यो । तेस्रो गोलीले रत्नकुमार बान्तवाको छाती फोरेर मुटुलाई छेड्यो । यसरी रत्नकुमार बान्तवा २७ वर्ष पूरा गरेर २८ वर्षमा प्रवेश गर्दैगर्दा जन्मदिनकै दिन कायर प्रहरीको गोलीद्वारा मारिनुभयो ।
रत्नकुमारले सहादत प्राप्त गर्नुभएको १ महिना नबित्दै भाइ बमप्रसाद बान्तवाको २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरियो । रत्नकुमार बान्तवाले सहादत प्राप्त गर्नुभएको ३७ वर्षपछि २०७२ फागुन २२ गते उहाँलाई सरकारले सहिद घोषणा गरेको इतिहास छ । यतिबेला सहिद बान्तवाको स्मृतिमा इलाम नगरपालिका वडा नं. १ साखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटसमेत सञ्चालित रहँदै आएको छ । रत्न–बम स्मृति प्रतिष्ठान उहाँकै स्मतिमा स्थापना गरिएको छ ।
बान्तवाको अध्ययन र साहित्यिक योगदान
सहिद बान्तवा नेपाली कम्युनिष्ट आन्दोलनको नेतामात्र नभएर, एकजना प्रखर प्रगतिवादी स्रष्टा र द्रष्टासमेत हुनुहुन्थ्यो । समाज र समाज विज्ञानको गहिरो अध्ययन गर्नुहुने उहाँले आङ जिरिङ जिरिङ तुल्याउने दर्जनौँ कविता, गीत, निबन्ध, समालोचना र चित्रकारितामा समेत बग्रेल्ती कलम चलाएको पाइन्छ । मातृभाषा प्रयोगका दृष्टिकोणले राई बान्तवा भाषामा कविता सिर्जना गर्ने प्रथम स्रष्टा पनि रत्नकुमार बान्तवा नै रहेको कुरा अलिपछि पुष्टि भएको छ ।
औपचारिक वा अनौपचारिक अध्ययन बिना सिर्जना हुँदैन, सिर्जना बिना नेतृत्व विकास हुँदैन भन्ने विषयको दृष्टान्तका रूपमा रत्नकुमार बान्तवालाई पढ्न र अनुसरण गर्न पाइन्छ । जीवनको जम्मा २७ वसन्त मात्र बाँच्नुभएका रत्नले परिवर्तनको छट्पटि र हुटहुटि लिएको अघि बढेको नेपाली समाज, नेपाली साहित्यिक आकाशमा गर्नुभएको मलजलको पक्ष असाधारण छ । सुविधासम्पन्न आजको पुस्ताले उहाँबाट सिक्नुपर्छ, समस्या चिर्ने उपाय अवलम्बन गर्नुपर्छ र अग्रगति र प्रगतिका साथ अघि बढ्न स्वयंमा योजनाकार बन्नुपर्छ ।
त्याग र बलिदानको भावना
अग्रज रत्नकुमार बान्तवाले चाहेको भए ठूलो तह र मर्यादाअनुरुपको जागिरे बन्न सक्नुहुन्थ्यो । बन्नुभएन । बरु उहाँले त पाएको जागिर, सुखशयल र छत्रछाँयालाई पनि तिलाञ्जली दिएर जीउज्यानको बाजी लगाउँदै रणमैदानमा निक्लनुभयो । सधैँभरि आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रका लागि आफ्नो जीवन अर्पण गर्नुभयो ।
आधारभूत तहाका जनताको हक र अधिकार सुनिश्चितताको लडाइँ लड्दा कतिपय बेलामा कठोर यातना सहनुभयो तर बलिदानीपूर्ण आन्दोलनको प्रतिफलस्वरुप प्राप्त आफ्नो दह्रिलो आदर्शप्रति निर्विघ्न अडिग रहनुभयो ।
सामाजिक न्याय र समानताका लागि संघर्ष
रत्नकुमार बान्तवा बाँचुञ्जेलसम्म समाजमा कैयौँ विषय, शीर्षक, निहुँ र नाममा रहेका विभेद र अन्यायविरुद्ध खह्रो उभिनुभयो, मैदानमा उत्रिनुभयो र वर्गवैरीलाई लल्कार लगाउन कहिल्यै पछि पर्नुभएन । राई बान्तवा मातृ भाषालाई व्यवहारिक बनाउने, कविता लेखनमार्फत प्रचलनमा ल्याउने, संरक्षण गर्ने आदि पक्षलाई सहअस्तित्वको सम्मानका रूपमा प्रचलित बनाउनुभयो तर दम्भ, घमण्ड, उन्माद आदिको विषय कहिल्यै बनाउनुभएन । यसबीचमा विशेषतः आदिवासी जनजातिहरूको अधिकारको संरक्षणका लागि उहाँले आवाज उठाउनुभयो । उहाँले सामन्ती अभिजातिय राजसंस्थानिर्देशित राज्य व्यवस्थामा जात–जातभित्र वर्ग, भाषा–भाषाभित्र वर्ग, लैंगिक अवधारणाभित्र वर्ग हुने कुरालाई सुक्ष्म ढंगले केलाउनुभयो र यसको पर्दाफास गर्नुका साथसाथै भण्डाफोर गर्न लाग्नुभयो । आमरूपमा मानिसको सहभागितामा नीति निर्माणको थलो निर्माण गर्नुपर्ने, यसनिमित्त राजनीतिक पहुँच सुनिश्चित गरेर सामाजिक–आर्थिक व्यवस्थाअन्तर्गत उभ्याउन सकेमात्र वर्गमुक्त आन्दोलनको सफलताले समाज समुन्नत अर्थमा समृद्ध हुने अवधारणाको वकालतसहित अग्रसरता लिनुभयो । यो पक्ष अध्ययन, मनन र पालनका दृष्टिकोणले आज पनि खड्कँदो विषयवस्तु हो । हाम्रालागि सिकाइयोग्य पक्ष हो ।
निडरता र क्रान्तिकारी सोच
बाल्यकालीन तीक्ष्णता सँगसँगै रत्नकुमार बान्तवा अध्ययनले परिपक्व, व्यवहारिक ज्ञानले सुझबुझसम्पन्न हुनुहुन्थ्यो । लगातार कक्षागत उत्तीर्ण मात्र होइन, पहिलो वरीयता आर्जनसहित कक्षा उत्तीर्ण गर्नु फड्को मार्नुसरहको अवस्थाबाट पारंगत रत्न साँच्चिकै रत्न हुनुहुन्थ्यो । फलतः तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सुस्पष्ट विचार राख्न सक्नुभयो, स्थानीय समुदायलाई यसमा जोड्न सक्नुभयो । आफूकेन्द्रीत कहिल्यै रहन नसक्नुहुने उहाँ निष्पक्ष समाज निर्माणका लागि निरन्तर र अथक प्रयास गर्नुहुने साधक हुनुहुन्थ्यो । राज्यसत्ताको दमनको सामना गर्दै पनि आफ्नो विचारधारामा दृढ रहन सक्ने शक्तिका रूपमा उभिनुभएको एकजना व्यक्ति र व्यक्तित्व हुनुहुन्थ्यो ।
एकताको पक्षपाती र संगठन निर्माणको महत्त्व
रत्नकुमार बान्तवाले प्रारम्भमा आफूले जे बुझ्नुभयो, प्रयोगमा सही ठहरिएपछि जनस्तरमा चेतना फैलाउने कडीका रूपमा यस्तो बिचारलाई अघि सार्नुभएको पाइन्छ । आवाजविहिन नागरिकको आवाज बन्नेदेखि लिएर आधारभूत तहको नागरिकको जनाधिकार, हकको प्रत्याभूतिका लागि सशक्त संगठन निर्माणमा जोड दिनुभयो । यसलाई पहिलो आवश्यकीय विषयवस्तुका रूपमा आवश्यक ठान्नुभयो र तदनुरुप अग्रसरता लिनुभयो । प्रत्येक मानिसको आफ्नो रहर, रहरको वैधानिकता, यसको साँधसिम्मा एउटा पक्ष होला तर सामूहिक रूपमा आन्दोलनलाई कसरी वलशाली र प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सधैँभरि अग्रसर रहनुभयो । यसनिमित्त प्राणको समेत आहुति दिनुभयो । यो अर्को एउटा र महत्वपूर्ण गर्विलो सिकाइयोग्य पक्ष हो ।
सच्चा नेताको नेतृत्वकारी गुण
२७ वर्षमै सबैका गुरु र अभिभावक बन्न सक्ने रत्नकुमार बान्तवा केवल चोटिलो भाषण गर्ने नेता होइन, व्यवहारिक रूपमा परिवर्तन ल्याउन सक्ने समूहकै साझापात्रका रूपमा अग्रसर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा परस्पर सौहाद्रता, वर्गस्नेह, सेवाभाव, त्याग, समर्पण, इमान्दारी आदि पक्षको गाढा संयोजन भएको पाइन्छ । आफूलाई धारिलो खुकुरीको धारमा उभ्याएर पनि सहयात्रीका पक्षमा दृढ उहाँको दैनिकीभित्र वस्तुतः यो व्यवहारमा देखाउनुभयो ।
सकारात्मक परिवर्तनका लागि प्रतिबद्धता
दीर्घकालीन उद्देश्य प्राप्तिको यात्रामा निर्भीक अघि बढ्नुभएको रत्नकुमार बान्तवामा समाजमा देखिएको कुनै पनि नाम वा शीर्षकका असमानता र अन्यायलाई सहनु हुँदैन, बेलाछँदै चिरफार गर्नुपर्छ भन्ने क्रान्तिकारी मानसिकता देखाउनुभयो । यो दृढाठोटका पर्याय सहित रत्नकुमार बान्तवाले देखाउनुभएको क्रान्तिकारी मार्गदर्शन पछ्याएर आज समाजमा खड्कँदो पक्षको रूपमा रहेको सकारात्मक परिवर्तनको प्रवाहलाई सिञ्चन गर्न सकिन्छ ।
सहिद रत्नकुमार बान्तवाबाट हामी संघर्ष, समानता, संगठन र समाज परिवर्तनको मार्ग धेरै विषयवस्तु सिक्न सक्छौँ । यस्तो ओजले भरिनुभएको क्रान्तिकारीहरूबाट प्रेरणा लिएर हामी आजको समाजमा रहेका अन्याय, विभेद र शोषणविरुद्ध लड्न सक्छौँ । यी विचारहरू केवल इतिहासको एउटा हिस्सा मात्र होइनन्, बरु वर्तमानलाई सुन्दर भविष्यतिर लैजान चाहिने मार्गदर्शक हुन् ।
अधिवेशनले यी सबै पक्षलाई अनुसरण गर्न सकोस्– पुनः धेरै–धेरै शुभकामना ।
( मोरङस्थित पथरी शनिश्चरे निवासी लेखक बास्कोटा नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ )









