उर्लाबारी, चैत १८ / मोरङको उर्लाबारी २ स्थित तेली नदीको कटानबाट जोगाउन भन्दै तटबन्धका नाममा बाँसको बेरा लगाइएकोप्रति स्थानीयले आपत्ति जनाएका छन् ।
जलवायुजन्य विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत साप्ला निरको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित यो परियोजनामा बाँंसको वेरा हालेर खोला छेक्ने काम भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।
गत वर्ष केही क्षेत्रमा तारजाली तटबन्धन निर्माण भएपछि स्थानीयले राहतको अनुभूति गरेको अवस्थामा यस वर्षको बाढीले बाँध भत्काइदिएको थियो । सो को पुनर्निर्माण कार्य सुरु भएतापनि, जोखिमयुक्त स्थानमा समेत बाँसको कमजोर संरचना निर्माण गरिएको भन्दै स्थानीयको आपत्ति र आक्रोस समेत छ । पुनःनिर्माण कार्यको अनुगमन र सुधारको माग स्थानीयको छ । तटबन्धन कार्यमा आवश्यक सुधार नल्याइए आन्दोलन चर्काउने चेतावनी समेत स्थानीय बासिन्दाले दिएका छन् ।

प्रारम्भिक योजनाअनुसार सतह र जोखिमयुक्त स्थानमा कंक्रिट संरचना तथा दुवै किनारामा तारजाली तटबन्धन गरिने वाचा गरिएको थियो । तर, हाल पुनर्निर्माण कार्यमा जोखिमयुक्त स्थानमा बाँसको बेरा मात्र प्रयोग गरिएको स्थानीय नारायण भट्टराईले उल्लेख गर्नुभयो । बर्षेनी खोलाले क्षति पुर्याउने स्थानमा कमजोर संरचना निर्माण गर्नु सरासर धोका भएको उहाँको धारणा छ । अर्का स्थानीय दान बहादुर पौडेल भन्नुहुन्छ , ‘तटबन्धनको आश्वासन दिएर बस्तीलाई जोखिममा पार्नु अन्यायपूर्ण काम हो ।’
खोलाको प्राकृतिक प्रवाह मोडेर निश्चित व्यक्तिहरूको जमिनको सुरक्षा गर्ने पक्षपातपूर्ण निर्णय गरिएको समेत स्थानीयको आरोप छ ।
सीमित बजेट र असिमित आवश्यकताका कारण प्राविधिक टोलीले ठहर गरेअनुसारको काम भइरहेको परियोजना संयोजक प्रवेश कार्कीको भनाई छ । उहाँले परियोजनाले थप मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पहिलो चरणमा अघिल्लो आ.व. मा जंगलमुखको तीन घरेदेखि देवीझोडास्थित तेली दोभानसम्म ७ किमि दुबै किनारामा तटबन्धन, दोस्रो चरणमा चालु आ.व. मा सोल्टी दोभानसम्म ३ किमि तटबन्धन कार्य गरिने उल्लेख छ ।









