दमक, चैत्र १९– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने कार्यक्रम तय गरिएको छ ।
ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ। बैंककमा रहँदा उहाँले शिखर सम्मेलनलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यसुची छ ।
प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लाग्नु भएको हो ।
भ्रमणअघि ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्नु भएको थियो । आइतबार भएको छलफलमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरु उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।









