दमक, चैत २० / विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐन जारी गर्न माग गर्दै आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले आजबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।
गत माघ २० गतेदेखि जिल्ला जिल्लामा आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजबाट अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाउनु भयो । संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र ऐन निर्माण गरी जारी गर्न माग सहित आन्दोलन निरन्तर अघि बढाउने निर्णय भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलनलाई काठमाडौं केन्द्रित गराइएको हो ।’ जिल्ला जिल्लाबाट शिक्षक तथा कर्मचारी आन्दोलनमा सहभागि हुने कार्यक्रम छ ।
आन्दोलनमा सहभागि शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने समेत योजना बनाइएको उहाँको भनाई छ ।









