पथरी, २८ चैत / मोरङको पथरी शनिश्चरे १ स्थित नमुना विद्यालयका रुपमा गुणस्तरीय शिक्षामा अब्बल पञ्चायत माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै कक्षा १२ का विद्यार्थीलाई विदाई गरिएको छ ।
बिहीबार विद्यालयको सभाहलमा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाले गुरू वर्गप्रति आभार व्यक्त गर्नुभयो । आचरण, नैतिकता, व्यवहारिक शिक्षा आदि विद्यालयले निरन्तर रुपमा प्रदान गरेको भन्दै समाजमा राम्रो छाप छोड्न र भविष्यमा उत्कृष्ट नतिजा हासिल गर्दै अगाडि बढ्न सुझाव गर्नुभएको थियो ।
सोही अवसरमा प्रधानाध्यापक बुढाथोकीले आगामी दिनहरुमा उच्च शिक्षा हाँसिल गर्न र आउँदै गरेको कक्षा १२ को वार्षिक परीक्षामा सामेल भई ४ जिपीए ल्याउने एक छात्र र एक छात्रालाई स– सम्मान पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो ।
कार्यक्रममा शिक्षक तर्फबाट बुद्धिनाथ अधिकारीले विदाई मन्तव्य राख्नुहुँदै २०७९ को एसईई नतिजा अनुसार नगरपालिकामा ३.९५ जिपीए ल्याउने छात्र निश्चल काफलेलाई प्रोत्साहनका लागि नगद ३ हजार सहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, २०८० सालमा नेपाली विषयमा ४ जीपीए ल्याउने छात्राहरू निकिता राई र करूणा राईलाई नेपाली विषय शिक्षक षडानन्द अधिकारी ( सरोज) ले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
विज्ञान संकायका तर्फबाट कक्षा ११ की छात्रा रक्षा लिम्बुले शुभकामना तथा कक्षा १२ का छात्रा झल्कुमारी दर्जी, अपेक्षा भण्डारी र मोनालिसा राईले विदाई मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेको कार्यक्रम सञ्चालक शिक्षक दिनेश सुवेदीले बताउनु भयो ।
सो अवसरमा विज्ञान संकायका शैक्षिक संयोजक चक्रधर गौतम, शिक्षकहरू गणेश बिष्ट , नरेश राई, मोहनप्रसाद गौतम, शम्भुराज थापालगायतको उपस्थिति थियो ।









