दमक, १ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारी तवरबाट पर्यटन वर्षको घोषणा गर्दै कार्यक्रम सञ्चालन गरिरहे पनि ग्रामीण पर्यटन प्रवर्द्धनमा ध्यान नपुगेको जनाउनुभएको छ ।
मोरङको बेलबारीस्थित वेतना सिमसार तथा वन उपभोक्ता समितिले नयाँ वर्षको सन्दर्भमा आयोजना गरेको शुभकामना आदान प्रदान र फुड फेस्टिबल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । ग्रामीण पर्यटनका लागि ध्यान दिएर पूर्वाधारको विकास र सुरक्षाको प्रवन्ध गर्नु अझ आवश्यक रहेको भन्दै यसखाले वातावरण बनाउन सबै लाग्नु आवश्यक रहेको कुरामा उहाँको जोड छ ।
प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्षको रुपमा घोषणा गरेर त्यसको प्रभावकारिता हाँसिल गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले बेलबारीसहितको सिमसार र अन्य पर्यटकीय सम्भावनाका क्षेत्रको प्रवद्र्धनमा सरकारले के गर्दा मानिसहरु बढी आउने वातावरण बन्छ त्यो गर्न आफू तयार रहेको धारणा समेत व्यक्त गर्दै उत्साह भर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले के गर्दा यहाँ धेरै भन्दा धेरै मानिस आउन सक्छन् त्यो हामी सहयोग गर्न तयार छौं ।’
बेलबारी नगर उपप्रमुख नीतु थापाले बेलबारीमा वेतना सिमसार र धनपालगढीलाई समेत पर्यटन गन्तव्यका रुपमा सरकारले औंल्याएकोमा खुसी व्यक्त गर्दै यसको प्रवद्र्धनमा जुट्दै जानुपर्नेमा जोड दिनुभयो ।
स्थानीय उत्पादनलाई प्रवद्र्धनका लागि पर्यटनसँग समेत जोडेर आयोजना गरिएको फुड फेस्टिभलले उत्साह भर्ने देखिएको छ । ग्रामिण पर्यटन प्रवर्द्धनमा यसखाले कार्यक्रम स्थानीय विकासको प्रमुख आधारसमेत बन्ने देखिन्छ ।









