दमक, १८, बैशाख– कोशी प्रदेश सरकारले अध्यादेश जारी गर्दै सहकारी संस्थाको एउटै पदमा दुई कार्यकाल भन्दाबढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश सहकारी ऐन २०७६ संशोधन गर्दै पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्था गरेको हो ।
गत २१ चैतमा राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गर्दै सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी बहाल हुन नपाउने उल्लेख गरेको थियो । प्रदेश सरकारले भने अध्यादेश जारी गर्दै पदाधिकारीमा मात्रै दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरेको हो ।
प्रदेश सरकारले सहकारीमा १० लाखभन्दा माथि बचत गर्दा अनिवार्य स्रोत खुलाउनुपर्ने प्रावधान राखेको छ । राष्ट्र बैंकले पनि निर्देशिन जारी गर्दै १० लाखभन्दा माथि स्रोत खुलाउनु पर्ने उल्लेख गरेको थियो ।









