विराटनगर, ४ जेठ / कोशी प्रदेश सभाको बजेट अधिवेशनका रुपमा वर्खे अधिवेशन आजबाट सुरु भएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ । ‘पर्यटन वर्षलाई प्राथमिकतामा राख्ने नै भयौँ । त्यसका साथै निजी लगानीलाई समेत आकर्षित गर्ने कार्यक्रम पनि समावेश गर्नुपर्ने हुन्छ ।’ भण्डारीले भन्नुभयो ।
प्रदेश सरकारले आफ्नो क्षमता अनुसारका बहुवर्षिय योजना सञ्चालन गर्नुका साथै, कृषि क्षेत्रको व्यवसायीकरणको कार्यक्रमलाई समेत प्राथमिकीकरण गर्ने उहाँको भनाई छ ।
नीति र कार्यक्रम पछि खासगरी प्रदेशको बजेट असार १ गते प्रदेश सभामा पेस गरिन्छ । हाल कोशी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार रहेको छ भने सरकारमा नेपाली काङ्ग्रेससमेत सहभागी छ ।
अधिवेशनको पहिलो बैठकमा आज शिर्ष नेताहरुले संबोधन गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकलाई संबोधन गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एजेण्डामा वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ । दलका नेताहरु यो सरकार टिक्छ भन्दै हिँड्न परेको अवस्थाले पनि सरकारको असफलता प्रष्ट्याउने उहाँको जिकिर छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका आङ्बोले प्रधानमन्त्रीले नै अर्को दललाई विश्वास दिलाउँदै हिड्नु परेको बताउनुभयो ।
यस्तै, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पूर्व मुख्यमत्री समेत रहनुभएका राईले प्रदेशसभामा जारी बर्खे अधिवेशनको बैठकका क्रममा बोल्दै पटक–पटक आवाज उठाउँदा पनि प्रभाव नपरेको भन्दै सरकारको जवाफदेहीपनामा प्रश्न उठाउनुभयो । धेरैपटक बलियो बोलेर केही हुन्छ जस्तो नलागेको उल्लेख गर्दै उहाँले आफ्नै इज्जत जोगाउन पनि अब नबोल्नुपर्ने स्थिति आएको तर्क गर्नुभयोे । अघिल्लो अधिवेशनमा टुंग्याउने भनिएको योजनाको नियमावली अझै नबनेको प्रति राईले असन्तुष्टि पोख्नुभएको थियो ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले हालै सम्पन्न लगानी सम्मेलनलाई सकारात्मक कदम भएको बताउनुभयो । उहाँले राष्ट्र निर्माणका लागि स्पष्ट कानूनी योजना आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । सिटौलाले फरक मत राख्नेहरूप्रति राज्य कठोर भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सिटौलाले गणतन्त्र दीर्घकालीन नहुन सक्ने चेतावनी पनि दिनुभयो ।









