आलेख

अस्पतालका एकाग्रचित्त रखवाला व्यक्तित्व बाबुराम राई

जो सधैँभरि आफू चलेर अरुलाई चलाउनुहुन्छ, आफू जलेर अरुलाई उज्यालो पथप्रदर्शनको काम गरिरहनुभएको छ ।

पहिलो प्रहर : पहिलो प्रभाव
हिजो बिहानबिहानै नगर अस्पताल पुगेँ । पथरी शनिश्चरे नगरपालिकाको वडा नं. २ स्थित पथरी अस्पतालमा म पुग्दा साढे ६ भन्दा बढी समय भएको थिएन । अस्पतालमा सेवाग्राहीहरू क्रमशः आउन लाग्नुभएको थियो । भाइ सञ्जीव गुप्ताको फार्मेसीमा बसेर बाबुराम दाजु अस्पतालको रेखदेखसहित सरसफाइ गराइरहनुभएको थियो ।

 

सेवाग्राहीसँगको जम्काभेटमा प्राप्त हुने उहाँको मन्दमुस्कान, हँसिलो उपस्थिति र फरासिलो प्रस्तुतिले पीडा बोकेर अस्पताल पुगेको बिरामी झण्डै निको भएको महशुस गर्छ, सञ्चो भएको भएझैँ फिल गर्छ– धेरै बिरामीबाट सुनेको थिएँ । मलाई पनि भयो यस्तै ।

 

बिहानै कालो माकुराले देब्रे हातको हत्केलामा टोक्यो । केहीबेरमै सहन नसक्ने तहमा जलनसहितको पीडाबोध भयो । यसकारण मौकामै अस्पताल गएको थिएँ । नेताजी यो बिहानबिहानै किन आउनुभयो ? अलि असजिलो पनि मान्नुभएको छ ? शारीरिक रूपमा यस्तो के भयो र ! उहाँले प्रश्नमाथि प्रश्न थप्नुभयो । माकुराले टोक्यो भनेर पनि कसरी भन्ने ! नभन्दा पनि पीडाबोध भएको छ । तथापि, भने । उहाँले डा. स्वयं उप्रेतीलाई खबर गरिहाल्नुपर्छ भनेर हतपत्त मोबाइल खोज्न थाल्नुभयो । यत्तिकैमा मैले आफैं डा उप्रेतीलाई फोन गरेँ । उहाँले टिटनस इन्जेक्सन र केही औषधी खाने राय सुझाउनुभयो एकजना नर्समार्फत । यत्तिकैमा चिकित्साकर्मी राजेन्द्र कार्की पनि आइपुग्नुभयो । उहाँको समेत सहयोग लिएर फटाफट उपचारमा लागे ।

केहीबेरको बसाइँ
झण्डै आधा वा पौने घण्टा म अस्पताल परिसरमा रहेँ, बसेँ । म त्यहाँ रहुञ्जेल अर्थात् बसुञ्जेल बाबुराम दाजुले कहाँ के पुगेन ? कहाँ के भइरहेको छ ? सबैतिर आँखा नचाइरहनुभएको थियो । एकपछि अर्को गर्दै आँखा घुमाइरहनुभएको थियो । चिकित्सक र कर्मचारीको आगमनलाई नियालिरहनुभएको थियो । आउँदै गरेको चिकित्सक र कर्मचारीको मनोविज्ञानलाई नजिकैबाट पढिरहनुभएको थियो । समय उघ्रँदै जाँदा थपिने बग्रेल्ती सेवाग्राहीलाई पनि एक–एक गर्दै सोध्न भ्याइरहनुभएको थियो । आफ्‌नो सामिप्यता, मानवीय सम्बन्ध र यो सम्बन्धमा आधारित स्नेह दर्शाइरहनुभएको थियो । पालो कुरेर बस्नुहुने अशक्त, बृद्धलगायतलाई सजिलो बनाउन सहजीकरण गरिरहनुभएको थियो । पार्किङ व्यवस्थापन र शौचालयको सफाइदेखि लिएर वातावरणको अन्दाज गर्नसमेत भ्याइरहनुभएको थियो ।

 

यो सबै दृश्यचित्र आँखैअगाडि देखेपछि म ताजुब खाएँ । उमेरले पाको मानिस हो बाबुराम राई ! अघि बिहानैदेखि कसरी यो रफ्‌तारमा लाग्न, खट्न, सबैको मनोविज्ञान पढ्न, उसलाई नजिकैबाट बुझ्‌न र यथासक्य काम लिन सकेको होला ! कुशल व्यवस्थापनको कुशाग्रता, अभिभावकीय भूमिका निर्वाह र अथक जागरणको यो दृश्यचित्रले फिल्मको रिलझैँ मेरो मनलाई घुमाइरह्यो ।

 

उहाँ वैतनिक पनि होइन, अवैतनिक व्यक्तित्व । कति धेरै समर्पित भएर लाग्नुभएको छ । मेरो मनमा छालउछाल बनेर कैयौँ प्रश्नहरू पौडिन थाले । पौडिएका कतिपय प्रश्नहरू तैरिन सके र कतिपय डुबे पनि । अलिक सञ्चो भएपछि बाबुराम राई दाजुलाई बोलाएँ । म धेरैबेर त समय दिन सक्दिनँ यो सेवाप्रवाहको समय हो । चिया खाउञ्जेलसम्म बसौँ भनेर नजिकै आउनुभयो । झन् नजिकैबाट उहाँलाई पढ्न कोशिस गरेँ ।

संवाद आदानप्रदानको क्षण
तपाईको यो सक्रियताभित्र लुकेको सेवाभाव, सेवातत्परता र सेवाप्रति समर्पणको गतिले म आश्चर्यचकित भएँ दाजु भनेर बातचित् आरम्भ गर्न थाले । ऐया ऐया भन्दै कराएको मानिसले मलाई खोज्छ, बेस्सरी चिच्याएको मानिसले मलाई खोज्छ, पीडा लिएर निदानका लागि यहाँ आएको मानिसले मलाई खोज्छ, कसैको पीडालाई घटाउन सक्दा मलाई त्योभन्दा बढी आनन्द अन्यत्र कहिँ पनि आउदैन, युवराज भाइ । मेरो जन्म नै सेवातत्परताका लागि भएको हो । यसमा पनि अहिले त मैले जिम्मेवारी लिएको छु । जिम्मेवारीमा रहुञ्जेल, जिम्मेवारी छउञ्जेल त लाग्ने, खट्ने र डट्ने हो नि ! मलाई बडा मिठो शब्दाक्षरमा जवाफ दिनुभयो । जीवनको उत्तरार्धमा पनि उत्तिकै जुझारू र कर्मठ दाजु बाबुराम राईले मलाई क्षणमै नतमस्तष्क बनाउनुभयो ।

 

सामुदायिक अस्पतालको यो सेवाप्रवाह सम्पादनमा आइपर्ने असजिलाहरू, जटिलताहरू र समस्याहरू के–के हुन् दाजु भनेर सोधेँ । प्रतिप्रश्नमा उहाँले भन्नुभयो– होइन, तपाई पञ्चायत माविको अध्यक्ष होइन ? पछिल्ला दिनमा के–के भयो, मैले सुनेको छैन र ? सामुदायिक अस्पताल होस् कि विद्यालय ! समस्याका प्रकृति उस्तैउस्तै होलान् तर कथाव्यथा एउटै हो । सामुदायिक सम्पति स्थानीय सम्पदा हो । यसलाई बचाउनुपर्छ र दैनिक प्रयोगमा ल्याउनुपर्छ भनेर हामीले समुदायलाई बुझाउन र जोड्न सकेको छैन । स्वास्थ्य र शिक्षाको बजार भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने मानिसले समुदायमा आधारित स्वास्थ्य र शिक्षालय अपेक्षाकृत राम्रो बनेको र सुध्रिएको देख्न चाहँदैनन् । अरु त धेरै विषय ठीकठाक हुँदै गएको छ प्रारम्भिक संवादको निष्कर्ष थियो ।

 

परिवारभन्दा जनजनको बढी ध्यान
औपचारिक अध्ययनका हिसावले एसएलसी उत्तीर्ण गर्नुभएका बाबुराम राईमा चिकित्सकीय गुण विषयगत ज्ञानआर्जनको उपल्लो ओहदा र तहजस्तै छ । आमा फूलमाया र बुबा कर्णध्वज राईको कोखबाट जन्मनुभएका उहाँ प्रारम्भिक चेतनादेखि नै समाज सेवाको बिचारबाट प्रभावित हुनुभयो । सेवाभावले लट्पटिनुभएका युवातन्नेरी राईमा पछिसम्म पनि विवाह गर्ने, विवाहबन्धनमा बाँधिने र घरगृहस्थको जग बसाल्ने मन थिएन । दमालेदौँतरी र थुप्रै साथीभाइले विवाह नगर्ने कुरालाई मान्नुभएन, निकै कर गरेपछि घरजाम गर्ने निधोमा पुग्नुभयो । चुल्हा मिल्ने उहाँसम्बद्ध किराँत संस्कारअनुरुप पद्मा थेवेसँग परम्परागत ढंगले आकर्षित रहँदै विवाहबन्धनमा बाँधिनुभयो । प्रकृतिले जुराएको सुयोग्य यो राई दाम्पतिबाट सानियोल र साइमान दुइजना उत्तराधिकारीको जायजन्म भएको छ । स्वास्थ्यस्थितिको मापनका दृष्टिकोणले अलिक कमजोर जेष्ठ सुपुत्रको उपचारका क्रममा श्रीमती पद्मा थेवे राई आफ्‌ना दुई छोरासहित राजधानी काठमाण्डौँ हुनुहुन्छ, बाबुराम दाजु यसको उतिसाह्रो प्रवाह नगरी जनमनको सेवामा गृहनगरमा ।

यो सबै सुन्दै गर्दा एकातिर सेवाप्रतिको भावजागृत हुन्छ, प्रेरणा थपिन्छ र हौसला मिल्छ भने अर्कोतिर अलिअलि असजिलो लागे झैँ पनि हुन्छ । जे होस्, उहाँ एउटा समाजको प्रतिनिधि ऐना हो, जसले मानव सेवाका पक्षमा प्रेरणाको पाना राँटो नबिराइकन पल्टाइरहनुभएको छ भन्ने अर्थमा फराकिलो दृष्टिकोण बन्छ, निर्मल र निष्छल मनले जीवित रहुञ्जेलसम्म पराकम्पन दिइरहन्छ ।

 

अस्पताल निर्माणको अवधारणा विकास
२०६६ सालदेखि नै ग्रामीण नागरिकको पहुँचमा आधारित सामान्यतः सुविधासम्पन्न अस्पताल निर्माणको हुटहुटिले छटापटाउनुभएका बाबुराम राई निर्माणकालदेखि अहिलेसम्म दौडधुपमा हुनुहुन्छ । समाजका अग्रणी व्यक्तित्वहरू क्रमशः केशवप्रसाद दाहाल, केरखाली सुनाहाङ, टंक गिरी, श्रीनारायण ढकाल, यज्ञप्रसाद ढुंगेल, विजय राई, चन्द्र शाहलगायत सन्तोष राई, होमबहादुर गुरुङ, रामकुमार गुरुङ, फणिमान लाकुम, मानबहादुर थापा, छवि ढकाल, जंगप्रसाद राई, रणबहादुर राई, तेजबहादुर बुढाथोकी, अर्जुन जोगी, रणबहादुर फागो र विष्णु श्रेष्ठबाट उहाँहरूको आ–आफ्‌नो जायजेथो, हैसियत र रुचिअनुसार अस्पताल निर्माणका निमित्त प्राप्त भएको १९ कठ्ठा सवाँ १२ धुर जमिनसहितको नगर अस्पतालको रेखदेखमा आदरणीय बाबुराम राई दत्तचित्त भएर लाग्नुभएको छ ।

 

अस्पताल निर्माणसम्बन्धी अवधारणा विकास र यसको वैधानिक प्रक्रिया अघि बढेसँगै बनेको अस्पताल व्यवस्थापन संरक्षण तथा रेखदेख समितिको अध्यक्षको जिम्मेवारी पाउनुभएका राईले आफूलाई यो जिम्मेवारीमा योग्यतम् सावित गर्नुभएको छ, अहिलेसम्म निर्विघ्‌न ढंगले प्रस्तुत गरिरहनुभएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगर स्वास्थ्य संयोजक स्वतः पदेन सदस्य रहन पाउने अस्पतालको आन्तरिक विधान व्यवस्थापनमा जमिनदाताको तर्फबाट सघन प्रतिनिधित्व रहन सकेमात्र अस्पतालसँग स्थानीय समुदायको प्रत्यक्ष र परोक्ष भूमिका जोडिने अध्यक्ष राईको विश्वास छ ।

 

अस्पतालको शिलान्यास मात्र होइन, निर्माणआरम्भको यो छोटो समयमा अस्पतालले गरेको प्रगति, ५० बेडसम्मको अस्पताल सञ्चालनको पूर्वाधार विकास, अस्पताल चलेकै ठाउँमा दैनिक सेवाप्रवाहको अवस्था, बिरामीको बढ्दो चाप, विषयविज्ञ चिकित्सकको व्यवस्थापन, बीमामार्फत सबैखाले रोगको जाँचपरीक्षण र उपचार, छिमेकी पालिकासम्मका गरी स्वास्थ्योपचारका लागि दैनिक साढे ४ देखि ५ सयसम्मको संख्यामा यहाँ आउने बिरामीले लिएको सन्तुष्टि आदि कारणले जमिनदाताहरू खुशी रहेको उहाँ ठम्याउनुहुन्छ ।

 

यो संघीय क्षेत्रको तात्कालिन जनप्रतिनिधि माननीय भानुभक्त ढकालको पहलमा प्राप्त भएको १८ करोड ६० लाखले एउटा सुविधासम्पन्न संरचनागत अस्पताल उभियो तर यसलाई अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन– अस्पताल व्यवस्थापन संरक्षण तथा रेखदेख समिति अध्यक्ष बाबुराम राईमा एकमात्र चासो र चिन्ताको विषय बनेको छ । यता राज्यको तर्फबाट लगानी भएको यो ठूलो धनराशी अहिलेसम्म प्रयोगमा आएको छैन, राज्यको लगानीको प्रतिफल खान सकिएको छैन भने अर्कोतर्फ अस्पतालमा बढ्दो बिरामीको चाप र चिकित्सकीय डेस्कअनुसार सेवाप्रवाहका लागि चाहिने भौतिक पक्षको अभावमा छट्पटिनुपरेको छ, हतारिनुपरेको छ– अध्यक्ष राई मलिन स्वरमा पोखिनुहुन्छ ।

 

सेवा प्रवाहको अवस्था
भरखरै सञ्चालनमा आएको दन्त रोग विभागमा संलग्न चिकित्सकसहित ४ जना एमबीबीएसको दरबन्दीबाहेक भिन्न–भिन्न ९ वटा विषयविज्ञ चिकित्सकको निगरानीमा उपचार आरम्भ भएकोमा अगाध खुशी व्यक्त गर्दै यसको सम्पूर्ण श्रेय नगर स्वास्थ्य संयोजक मुरारी आचार्यलाई दिनु नै बढ्ता श्रेयस्कर हुन्छ भन्नुहुन्छ अध्यक्ष राई । बेहोस नबनाइकन हुने शल्यक्रियाबाहेक अस्पतालमा हर्नियाको परिक्षण सफल भएको छ । ६२ जना कर्मचारी कार्यरत यस नगर अस्पतालमा फिजिशियन, अर्थोपेडिक, गाइनो, सर्जन, डर्माटोलोजी, साइक्रिटिक, भिडियो एक्स–रे, नाक कान घाँटी, आँखासम्बन्धी र बालबच्चाको सम्पूर्ण उपचार बीमाअन्तर्गत नै हुने गरेको छ । कल्चरको परिक्षणको तयारीमा रहनुभएका अध्यक्ष बाबुराम राईलाई पालिकाभित्रकै वडावडाले आफ्‌नो अस्पताल, नगर अस्पतालको रूपमा नलिइदिएको हो कि भन्ने चिन्ता छ । २ करोड बराबरको बीउपूंजी सञ्चय गर्न सकियो भने अब फार्मेसीलाई पनि अस्पतालकै अधिनमा सञ्चालनमा ल्याउने योजना रहेको बताउनुहुने अध्यक्ष राई यसको जोहोमा लाग्नुभएको छ ।

 

बाबुराम राई फूलको आँखामा
फूलको आँखामा फूलै संसार … गायिका आनी छोइङ डोल्माको यो चर्चित गीत नगर अस्पतालमा कार्यरत कर्मचारी पंक्तिमा पनि उत्तिकैमोहपूर्ण अर्थमा देखिन्छ, यत्रतत्र भेटिन्छ र प्रत्येकका भावमा छचल्कन्छ । कहिलेकाहिँ खानपिन पनि बिर्सनुहुन्छ, सधैँभरि एकलयमा तन, मन र धनले अस्पतालको हितको निम्ति काम गर्नुहुने, बिरामीको करुणाले मन पगाल्ने, ठूलो सानो कसैप्रति भेदभाव नराख्ने, सबैलाई एकसमान देख्ने र सोहीअनुरुप व्यवहार गर्ने दाजु बाबुराम राई लाखौँ मानिसको भीडमा एउटा दुर्लभ सामाजिक व्यक्तित्व हुनुहुन्छ लेखा शाखामा सेवारत यमबहादुर खड्का भन्नुहुन्छ ।

 

फार्मेसी सञ्चालक सञ्जीव गुप्तालाई अस्पताल अध्यक्ष बाबुराम राईलाई तपाई कसरी बुझ्‌नुहुन्छ एकटक सोध्न नपाइ प्रतिउत्तरमा उहाँ भन्नुहुन्छ– हेर्नुस्, म त बाबा गुमाएको मान्छे । बाबा आड र भरोसा दुबै हुनुहुँदो रहेछ । यो भीडमा बाबाको अभावमा कहिलेकाहिँ हराए झैँ हुन्छ, गुमनाम झैँ हुन्छु । तर जबजब उहाँ बाबुराम राईलाई नजिकै देख्छु, नजिकैबाट भेट्छु, बाबुतुल्य आशीर्वचनसहित भेटेको अनुभूति गर्छु । अलिअलि डर, अलिअलि भर जागेर आउछ उहाँ नजिकै पर्दा ।

 

इमान र निष्ठालाई कहिल्यै बन्धक राख्न नसक्ने, फटाहालाई फटाहा भन्न नहिचकिचाउनुहुने, आफूले दिने तर अरुको कत्तिपनि नलिने तथापि सेवाप्रति पूर्णतः समर्पित रहन सक्नुहुने, कसैको कुनै समस्याले समाधान पाउन नसकेको अवस्था भए स्वयं नै त्यो समस्याले औधी पिरोलिन सक्नुहुने, धेरैजसो समय घरपरिवारलाई समेत छाडेर स्थानीयको सेवामा खट्न मात्र होइन डट्न पनि सक्नुहुने अद्भुत क्षमताको पर्याय हो हाम्रो अभिभावक दाजु बाबुराम राई । उहाँको उपस्थितिले मात्र हामीलाई पनि कार्यस्थलमा काम गर्न सजिलो मात्र होइन, उर्जा दिन्छ, जाँगर भरिन्छ र स्फुर्ति आउछ भन्नुहुन्छ सूचना अधिकारीसमेत रहनुभएका राजेन्द्र कार्की ।

 

मानवता बोकेको मनले मात्र मानवको अन्तरकुन्तरलाई पहिल्याउन छ, सुक्ष्म ढंगले बुझ्‌न सक्छ र जुरुक्क बोक्न सक्छ । तपाई एउटा यस्तो हिमाल झैँ अटल प्रेरणा हो, जो सधैँभरि आफू चलेर अरुलाई चलाउनुहुन्छ, आफू जलेर अरुलाई उज्यालो पथप्रदर्शनको काम गरिरहनुभएको छ । तपाईबाट प्रेरित रहन सकूँ, तपाईलाई सधैँभरि पछ्याइरहन सकूँ– धेरै–धेरै शब्द–शुभेच्छा दाजु बाबुराम राई ।

(लेखक बास्कोटा पथरी शनिश्चरेका सामाजिक व्यक्तित्व हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको