बागलुङ, १८ जेठ / नेपालकै २२ ठूला परम्परागत खानीमध्ये एक रहेको यहाँको जैमिनी नगरपालिका १० राङ्खानीको तामाखानी उत्खनन्को पर्खाइमा रहेको छ ।
तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्रका केही सुरुङमार्ग संरक्षणको अभावमा पुरिएका छन् भने पहिरोले क्षतिसमेत पुर्याएको छ ।
तामा निकाल्ने धेरैले ज्यान गुमाएको जनाउँदै जैमिनी–१० राङ्खानीका ९५ वर्षीय बमबहादुर श्रीसले घरनजिकैको पाखोबाट आफ्ना बाबुबाजेले तामाको धाउ निकालेको स्मरण गर्नुभयो । बाजेले तामाको धाउ निकालेर बिक्री गरेर जीविकोपार्जन गर्नुभएको थियो, पछि तामाको धाउमा कर बढी लगाएपछि खानी बन्द भएको उहाँको बुझाई छ । उहाँले त्यसबेला आर्थिक स्रोतको समस्याका कारण तामाखानीबाट राज्यलाई १४ धार्नी कर बुझाउन नसक्दा बन्द भएको जानकारी दिनुभयो । पाखैभरि तामा खनेका चारदेखि ५० मिटरसम्मका सुरुङ अझै रहेको उहाँले सुनाउनु भयो । तर कतिपय सुरुङ मेटिन थालेको बताउनु भयो ।
राङ्खानीको डाँडाखानीलगायत क्षेत्रमा एक सय २० वर्षभन्दा अघिसम्म उत्खनन गरिएका तामाखानी यतिबेला पुरिने अवस्थामा पुगेका छन् । राज्यलाई कर तिर्न नसकेका कारण उत्खनन बन्द भएका तामाखानी अझै सञ्चालनमा आउन सकेको छैन ।
यहाँका खानीमा अन्य जिल्लाका मजदुरसमेत आएर काम गर्ने गरेकाले यहाँ ठूलो मात्रमा तामा रहेको अनुमान गरिएको छ । खानी सञ्चालन र उत्खननको अधिकार स्थानीय सरकारलाई नभएकाले सङ्घीय सरकारले पहलकदमी गर्नुपर्ने वडाध्यक्ष श्रीप्रसाद थापाले बताउनु भयो । दमेक र राङ्खानी क्षेत्रमा खानीको जैमिनी नगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको उहाँले जनाउनु भयो ।









